अंग्रेजी नयाँ वर्ष २०२३ तथा १०औं राष्ट्रिय टोपी दिवसको अवसर पारेर नयाँ फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ च्याप्टर वानको घोषणा गरिएको छ । आइतबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम सार्वजनिक गरिएको हो । हिन्दु धर्मका सप्तऋषिमध्येका एक ऋषिको नामबाट फिल्मको शीर्षक जुराइएको हो । थिम पोस्टरको डिजाइन र नामले फिल्म पूर्ण एक्सन प्रधान हुने बझ्न सकिन्छ ।
सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । फिल्म खिच्ने जिम्मेवारी राजेश श्रेष्ठको काँधमा छ । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक चौधरी स्वयंको हो । नेपाल र भारतमा छायांकन हुने फिल्मका लागि मुख्य भूमिकामा विभिन्न कलाकारहरुसँग कुराकानी भैरहेको सौरभले बताए ।
फिल्ममा केही भारतीय कलाकारहरुको पनि अभिनय रहनेछ । भारतीय कलाकारसँग सम्झौता गर्न निर्देशक चौधरी केही दिनमा भारत प्रस्थान गर्दैछन् । दुई श्रृंखलामा निर्माण हुने फिल्मको दुवै च्याप्टरको स्क्रिप्ट तयार भैसकेको छ । ५० प्रतिशत नेपालमा र ५० प्रतिशत भारतमा छायांकन हुने फिल्मको आगामी बैशाखबाट छायांकन सुरु गरेर दशैंतिर प्रदर्शन गर्ने निर्माण टिमको योजना छ ।
निर्देशक चौधरी ‘अगस्त्य’लाई आफ्नो ड्रिम प्रोजेक्ट मान्छन् । उनले भने, ‘फिल्म उत्कृष्ट बनाउने संकल्प लिएको छु । विगत साढे २ वर्षदेखि फिल्मको स्क्रिप्टमा मिहिनेत गरेको छु । निर्माताहरु सहयोगी पाएकाले छायांकनको बेला कुनै कम्प्रमाइज नहुनेमा विश्वस्त छु ।’ निर्माता मल्लले कथावस्तु सुनेपछि फिल्म छाड्न नसकेको बताउँछन् । उनी सौरभले फिल्म राम्रो बनाउनेमा विश्वस्त छन् ।