कलाकार र नेपाली फिल्म क्षेत्रबीचको समन्वय र सहयोग आदान-प्रदानको लागि नेपाल प्रहरीले नेपाली फिल्मकर्मी तथा विज्ञसँग अन्तक्रिया गरेको छ । बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित अन्तक्रिया कार्यक्रममा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले फिल्म क्षेत्रलाई आवश्यक हरेक सहयोग गर्न नेपाल प्रहरी सदैव तत्पर रहेको बताए ।
फिल्ममा नेपाल प्रहरीलाई नकारात्मक चरित्रको रूपमा मात्र प्रस्तुत गर्दा प्रहरी सेवाप्रति नागरिकको धारणा नराम्रो बन्ने र आकर्षण कम हुनसक्नेमा उनले चिन्ता व्यक्त गरे । फिल्मको सिर्जना र कथा मर्नु हुँदैन भन्नेमा नेपाल प्रहरी सजग रहेको जिकिर गर्दै उनले तल्लो दर्जाको प्रहरी कार्यक्षेत्रका वास्तविक हिरो भएकाले उनीहरूको विषयलाई फिल्ममा समेटियोस् भन्ने अपेक्षा राखेको बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म छायांकनको क्रममा प्रहरीसँग सम्बन्धित हातहतियार, पोशाक, सवारीसाधन र छायाकंनस्थलको प्रयोगलाई थप व्यवस्थित गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् । छायाकंन र प्रदर्शनपछि दृश्य मोबाइलमा खिचेर इन्टरनेटमा सार्वजनिक दिने प्रवृतिले निर्मातालाई नोक्सान हुने गरेकाले यसलाई नियमन गर्न उनले प्रहरीसँग सहयोग मागे ।
निर्माता समेत रहेका भुवन केसीले फिल्म छायांकनमा ड्रोनको प्रयोग सहजीकरणको लागि पनि नेपाल प्रहरीलाई आग्रह गरेका छन् । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले फिल्म निर्माणको क्रममा नेपाल प्रहरीसँग सम्बन्धित दृश्यहरू सुधार गर्न प्रयत्नरत रहेको बताउँदै यसका लागि नेपाल प्रहरीको तर्फबाट समन्वय अधिकृत व्यवस्थापन गरिदिए अझ सहज हुने धारणा राखे ।
कलाकार नीर शाहले नेपाल प्रहरीसँग फिल्म उद्योगको इतिहास जोडिएको चर्चा गर्दै आगामी दिनमा समेत पारस्परिक सहयोग आदान प्रदान गर्न फिल्म उद्योग तयार रहने प्रतिवद्धता व्यक्त गरे । प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले फिल्ममा देखाइने प्रहरीले गर्ने क्रुर व्यवहारसँग सम्बन्धि दृश्य मानव अधिकारविरूद्धको कार्य भएकोले उक्त दृश्य देखाउनु सान्दर्भिक नहुने बताए ।
फिल्ममा प्रहरीसँग सम्बन्धित भूमिका, कथावस्तु अनुसार फिल्ममा पक्राउ परेका व्यक्तिहरु उपर कानुनसम्मत एवम् मानवोचित व्यवहार प्रस्तुत, फिल्म छायाङ्कन पूर्व प्रहरी प्रधान कार्यालयसँग समन्वय, प्रहरीले निर्माण गरेका जनचेतनामूलक श्रव्यदृश्य सामग्री फिल्म हलमा प्रसारण गर्ने पद्दतीको विकास लगायतका विषयमा पनि नेपाल प्रहरी र फिल्मकर्मीहरुबीच छलफल भएको थियो ।
कलाकार कृष्ण मल्ल, संगीतकार शम्भुजित बास्कोटा, प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, कलाकार संघका रामेश्वर बुर्लाकोटी, निर्देशक समाजका महासचिव जनकदीप पराजुली, नेपाल चलचित्र संघका उपाध्यक्ष गोपाल कायस्थ, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, नेशनल डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव बिएललगायतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।