मिति : २०८१ पौष १२, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लंका’मा डिआइजी बनेका थिए रक्षा मन्त्री हरि उप्रेती

फिल्मीखबर, काठमाडौं, 2023/01/19

गत मंसिर ४ गते भएको संघीय निर्वाचनमा एमालेबाट सर्लाही क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यमा विजयी हासिल गरेर पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नवगठित सरकारको रक्षा मन्त्री बनेका हरि उप्रेती नेपाली फिल्मसँग पनि अत्यन्त नजिक छन् । उनका भाई निखिल उप्रेती नेपाली फिल्मका सुपरस्टार हुन् भने उनी आफैं पनि कलाकार हुन् । उनी अभिनीत पहिलो फिल्म ‘लंका’ हो ।

सर्लाही रैनाथे श्याम भट्टराई निर्देशित तथा रेखा थापा र किशोर खतिवडाको मुख्य भूमिका रहेको फिल्ममा उप्रेतीले डिआइजीको भूमिका निर्वाह गरेका थिए । फिल्मको ओपनिङ सिनमै उनलाई डिआइजीको बर्दीमा देख्न पाइन्छ । इन्स्पेक्टरको भूमिकामा रहेका किशोर खतिवडासँग उनी करिब ३ मिनेट संवाद गरेको दृश्य फिल्ममा समावेश छ, जसमा उप्रेतीको अभिनय स्वभाविक देखिन्छ ।

 

hari pureti


हाल अमेरिकामा बस्दै आएका निर्देशक भट्टराई डिआइजीको भूमिका हरि उप्रेतीलाई अफर गर्दाको क्षण सम्झिँदै फिल्मीखबरसँग भन्छन्, ‘त्यो भूमिकाका लागि राम्रो व्यक्तित्व भएको र फिल्मको सर्लाहीमै प्रायः छायांकन हुने भएकाले त्यहाँको जनताले राम्रोसँग चिनेको व्यक्ति होस् भन्ने हामी चाहन्थ्यौं । हरि दाई सबै कुरामा परफेक्ट पायौं अनि उहाँ पनि फिल्ममा काम गर्न राजी हुनुभयो ।’

डिआइजीको भूमिका अफर गर्दा उप्रेतीले त्यो भूमिकाले समाज र आफ्नो व्यक्तित्वमा कस्तो प्रभाव पार्छ भनेर निर्देशक भट्टराईसँग जिज्ञासा राखेका थिए । भट्टराईले भूमिका राम्रो भएकाले समाज र व्यक्तित्वमा कुनै असर नपर्ने स्पष्ट पारेपछि उनी काम गर्न तयार भएका थिए । केमियो भूमिका भए पनि मन्त्री उप्रेतीले व्यवसायिक कलाकारले झैं अभिनय गरेको निर्देशक भट्टराई स्मरण गर्छन् ।

उनी भन्छन्, ‘हरि दाईले आफ्नो सिन समेत ‘इम्प्रोभाइज’ गर्नुभएको थियो । ‘मैले धेरै डिआइजीसँग भेटेको छु र उनीहरुको बोल्ने शैली र हाउभाउ मलाई धेरै थाहा छ, यसरी संवाद बोल्दा के हुन्छ’ भनेर मसँग सल्लाह गर्नुभएको थियो । त्यसबेला मलाई यस्तो लाग्यो कि उहाँ नयाँ कलाकार होइन, व्यवसायिक कलाकार हो । उहाँले आफ्नो सिनको डबिङ समेत आफैंले गर्नुभएको थियो ।’

‘लंका’को प्रायः छायांकन सर्लाहीको हरिवन, बागमती क्षेत्रमा भएको थियो । हरि त्यही क्षेत्रका परिचित राजनीतिज्ञ हुन् । त्यसबेला उनी सांसद भैसकेका थिएनन् । पार्टीगत राजनीतिमा सक्रिय थिए । ‘लंका’पछि भने उनले फिल्ममा काम गरेका छैनन् । फिल्ममा अभिनय गरेको कलाकार मन्त्री बन्ने उनी नै पहिलो हुन् । यसपटक उनलाई चुनाव जिताउन निखिलले राम्रै दौडधुप गरेका थिए ।

 

Most Visited News (monthly)