साउथ सुपरस्टार थलपति विजय अभिनीत फिल्म ‘वरिसु’ र अजित कुमार स्टारर फिल्म ‘थुनिवु’ले ११ जनवरीबाट एकसाथ प्रदर्शन थालनी गरेका हुन् । कमजोर समीक्षा पाएका यी दुवै स्टारको फिल्मबीच बक्सअफिसमा रोचक प्रतिस्पर्धा देखिएको छ । तर, यो प्रतिस्पर्धामा विजयको फिल्मले बाजी मारेको देखिन्छ । कमाईको आधारमा ‘थुनिवु’भन्दा ‘वरिसु’ करिब ४० करोडले अगाडि छ ।
प्रदर्शनको ११ दिनसम्ममा ‘वरिसु’ले १ सय ४१ करोड कमाई गर्दा ‘थुनिवु’ले सय करोडको आँकडा नाघेको छ । विजयको फिल्मले रिलिजको पहिलो हप्ता विश्वभरबाट २ सय १० करोड छापेको थियो । ११औं दिनमा फिल्मले कमाईमा थप उछाल कायम गरेको छ । फिल्मले ११औं दिनमा सबै भाषाबाट गरी भारतमा ६ करोड ५ लाखको कमाई गर्दै कूल १ सय ४१ करोडको अंक जोडेको हो ।
अजितको फिल्मले पनि बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । ११औं दिनमा फिल्मले सबै भाषाबाट गरी ४ करोड कमाएको ट्रेन्ड एनालिस्टले जानकारी गराएका छन् । अजित र विजयको यो प्रतिस्पर्धामा बुधबारबाट बलिउड सुपरस्टार शाहरुख खानको इन्ट्री हुँदैछ । २५ जनवरीमा उनी अभिनीत फिल्म ‘पठान’ रिलिज हुँदैछ । यसले ‘वरिसु’ र ‘थुनिवु’को व्यापारमा असर गर्न सक्छ ।