नेपाली नयाँ वर्ष फिल्म प्रदर्शनका लागि उपयुक्त समय मानिन्छ । नेपालीहरु ‘न्यू इयर मूड’मा हुने भएकाले घुमघामका साथै फिल्म हेर्नेको जमात ठूलो हुन्छ । यसैले हरेक नयाँ वर्षमा फिल्म प्रदर्शन गर्न निर्माताहरुबीच तछाडमछाड नै चल्ने गर्छ । यस्तैमा, २०८० सालको बैशाख १ अर्थात् नयाँ वर्ष नयाँलाई लक्षित गरेर प्रदर्शन मिति घोषणा गर्न यतिबेला ठूला ब्यानरबीच प्रतिस्पर्धा चलेको छ ।
करिब ६ महिना अगाडि नै झरना थापाले आफ्नो निर्देशनमा बन्न लागेको फिल्म ‘भगवत् गीता’लाई आगामी नयाँ वर्षमा प्रदर्शन गर्ने घोषणा गरेकी थिइन् । तर, यो फिल्मको छायांकन नै सुरु नभएकाले नयाँ वर्षमा प्रदर्शन हुने सम्भावना न्यून छ । आगामी बैशाख १ गतेलाई ‘नाईं नभन्नू ल ६’ र ‘प्रसाद २’ले पनि प्रदर्शन मिति घोषणा गरेका छन् । अब यो मितिमा फिल्म ‘जारी’ पनि थपिएको छ ।
सोमबार एक पोस्टर सार्वजनिक गर्दै आगामी बैशाख १ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । पोस्टरमा फिल्मका मुख्य कलाकारद्वय दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् । उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा रहेको पोस्टरले बुझाउँछ । यसअघि यी दुईले रेकर्डब्रेक फिल्म ‘कबड्डी ४’मा एकसाथ काम गरेका थिए । कवि उपेन्द्र सुब्बाले फिल्मको निर्देशन गरेका हुन् ।
‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई निर्देशक सुब्बा स्वयंले लेखेका हुन् । नेपालको लिम्बू समुदायको सुन्दर प्रेमकहानीमा बनेको फिल्मले एक व्यक्तिको यस्तो कहानी भन्छ, जो आफ्नो श्रीमती फिर्ता ल्याउन संघर्ष गर्छ । जारी प्रथामाथि आधारित रहेको फिल्ममा विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, कमलमणी नेपाल, पुष्कर गुरुङलगायतको पनि अभिनय छ ।