नेपालबाट हलिउडसँगै विश्वका ठूला उद्योगका फिल्ममा काम गरिरहेको ‘इनसेसेन्ट रेन फिल्म स्टुडियो’का संस्थापक किरणभक्त जोशीले ‘इनसेसेन्ट रेन एकेडेमी’ सुरु गरेका छन् । यही सोमबार उद्घाटन भएको एकेडेमीमा भिजुअल इफेक्ट, थ्रीडी एनिमेसन, गेम डेभलपमेन्ट, फिल्म निर्माण, ग्राफिक्स डेभलपमेन्ट तथा एप डेभलपमेन्टका कक्षा सञ्चालन हुने किरणभक्तले जानकारी दिए ।
उनले डेभ डटकमका संस्थापक पारस चित्रकार र नेपाली प्राईभेट ईक्विटी कम्पनी टिएनए एसोसिएट्ससँग सहकार्यमा एकेडेमी सञ्चालन गरेका हुन् । उद्घाटन कार्यक्रममा युनेस्कोका कार्यालय प्रमुख तथा नेपाल प्रतिनिधि माइकल क्रफ्ट उपस्थित थिए । एकेडेमीले युवा नेपालीलाई ठूलो अवसर दिने र यसले नेपाली फिल्म उद्योगमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, बिहीबार नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले एकेडेमीको भ्रमण गरेका छन् । त्यस अवसरमा थम्पसनले नेपालका कलाकारहरुको लागि एकेडेमीले राम्रो जीवनयापन र अवसर सिर्जना गर्ने बताए । थम्पसनले एकेडेमीमा अध्ययनरत विद्यार्थीसँग पनि केही समय कुराकानी गरेका थिए । साथै, उनले छाउनीस्थित ‘इनसेसेन्ट रेन फिल्म स्टुडियो’को समेत भ्रमण गरे ।
किरणभक्त जोशी एक टेलिभिजन तथा फिल्म निर्देशक, निर्माता र एनिमेसन एवं भिजुअल इफेक्ट विज्ञ हुन् । उनले सन् १९९१ मा अमेरिकाको चर्चित वाल्ट डिज्नी स्टुडियोमा कम्प्यूटर एनिमेशन प्रोडक्शन सिस्टममा काम गरेका थिए । जसका कारण उनको एनिमेशनमा करिअर बन्यो । उनले ‘मुभिङ माउन्टेन्स : द अवेकनिङ’ नामक वृत्तचित्रको निर्माण र सह-निर्देशन पनि गरेका छन् ।