मिति : २०८१ पौष २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विवादित कम्पनीसँग मिलेर बोर्डले दुबईमा गर्न लागेको फेस्टिभलमा भुवन र अनमोल जाँदै

फिल्मीखबर, काठमाडौं, 2023/01/29

bhuwan kc and anmol kc

 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले दुबईमा फेस्टिभल गर्ने जिम्मा विवादित नीजि कम्पनी सूर्य कर्पोरेसनलाई दिएपछि यतिबेला बोर्ड समेत विवादमा तानिएको छ । सूर्य कर्पोरेसन त्यही हो, जहाँ वैदेशिक रोजगार विभागले छापा मार्दा ८० भन्दा बढी राहदानी फेला पारेको थियो भने विदेशमा कामदारको रूपमा पठाउने भन्दै रकम लिएको कागजपत्र समेत फेला पारेको थियो ।

विवादित कम्पनीलाई फेस्टिभल गर्ने जिम्मा दिएको विषयमा मिडियादेखि फिल्मकर्मीहरुले समेत निरन्तर प्रश्न उठाएका छन् । सूर्य कर्पोरेसन र अध्यक्ष केसीबीच विगतमा व्यापारिक सम्बन्ध रहेको समेत खुलासा भएको छ । तर, विवाद पचाउने बानी परिसकेका अध्यक्ष केसीले यी कुरालाई पनि सामान्य रुपमा लिँदै हिँडिरहेका छन् । अब उक्त फेस्टिभलको मिति र स्थान पनि तय भएको छ ।

‘नेपाल्स सिनेमा फेष्ट २०२३’ नाम दिइएको फेस्टिभल बोर्ड र सूर्य कर्पोरेसनबीचको सहकार्यमा हुन लागेको हो । २०२३, फेब्रअरी १२ देखि १५ तारिख (माघ २९ देखि फागुन ३ गते)सम्म दुबईको स्टार सिनेमा (अल घुरैर सेन्टर)मा हुने फिल्म फेस्टिभलमा नेपाली फिल्महरु ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’, ‘महापुरुष’ प्रदर्शन गरिनेछ भने सूर्य कर्पोरेसनले एक अवार्डको समेत घोषणा गर्दैछ ।

फेस्टिभलमा सहभागी हुने कलाकारको नाम पनि सार्वजनिक गरिएको छ । फेस्टिभलमा सहभागी हुने कलाकारको तस्बिरसहित आइतबार सार्वजनिक एक पोस्टरमा भुवन केसी, नीर शाह, शिव श्रेष्ठ, विजय लामा, ऋचा शर्मा, प्रशान्त ताम्राकार, अनमोल केसी, उपासना सिंह ठकुरी, सन्दीप क्षेत्री, बोर्डका सदस्य तथा अभिनेता राज कटुवाल, रवि ओड, उद्घोषक नरेश भट्टराईलगायत छन् ।

शनिबार चलचित्र पत्रकार संघ नेपालको दुई दिने कार्यशालाको समापन कार्यक्रममा भुवन केसीले विदेशमा नेपाली फिल्म प्रवर्द्धन र छायांकनको वातावरण बनाउन दुबईमा फेस्टिभल गर्न लागेको बताएका थिए । सरकारले दुईवटा कार्यक्रम गर्नलाई ५० लाख दिएको र त्यो धेरै सानो रकम भएकाले दुबईमा कार्यक्रम गर्न नीजि कम्पनीसँग सहकार्य गरिएको उनले स्पष्टिकरण दिएका छन् ।