शुक्रबारबाट नेपालमा प्रदर्शन थालेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ले घरेलू बक्सअफिसमा सुखद कमाई गरिरहेको छ । प्रदर्शनको पहिलो दिन दिवा शोबाट ‘पिकअप’ लिएको फिल्मले शनिबार महाशिवरात्रीको विदामा देशभर लगभग हाउसफुल दर्शकको साथ पाएको थियो । बलियो ‘वर्ड अफ माउथ’का कारण आइतबार पनि हलहरुमा दर्शकको चाप सुखद देखिएको छ ।
नेपालमा फिल्मले हिटको संकेत गरेपछि विदेशमा डिमान्ड चुलिएको छ । यसबीच, फिल्मको पहिलो विदेश प्रदर्शन अष्ट्रेलियाबाट हुने भएको छ । महंगो मूल्यमा अष्ट्रेलिया प्रदर्शन अधिकार लिएको नेपोज एजुकेसन एण्ड भिसा सर्भिसेस र एस पिपुल एण्ड भिसा सर्भिसेसले यही फेब्रअरी २५ र २६ तारिखका दिन फिल्मको प्रदर्शन सिड्नीको बैक्स टाउनस्थित होयत्स सिनेमा हलमा गर्दैछ ।
अष्ट्रेलिया वितरक रोशन भट्टराई र विनोद पौडेलले ‘फूलबारी’ १९ फेब्रअरीका दिन क्यानभरामा, २० र २२ फेब्रअरीका दिन डार्बिन र एडिलेटमा र २२ फ्रेबुअरीका दिन मेलबर्नमा प्रदर्शन हुने जानकारी दिए । यसपछि तास्मनिया, ब्रिसबेन र पर्थमा फिल्म प्रदर्शन गर्ने तयारी गरिएको छ । नेपालमा मिलेको सकारात्मक प्रतिक्रियाको प्रभाव अष्ट्रेलियाको शोमा पर्ने विश्वास वितरक कम्पनीको छ ।
पारिवारिक कथावस्तुमा बनेको फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, अनुपम शर्मा, मनिष ढकाल, सोमनाथ खनाल, लोकेन्द्र लेखक, साक्षी गुरुङ, गौमाया गुरुङ, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको अभिनय छ । रामबाबुद्वारा निर्देशित पछिल्लो फिल्म ‘कबड्डी ४’ले अष्ट्रेलियामा ‘रेकर्ड ब्रेक’ कमाई गरेको थियो ।