मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छड्के २’ फ्लप भएपछि अनमोल लेख्छन्, ‘म परिपक्व हुनुपर्थ्यो, चुक्न पुगेँ’

फिल्मीखबर, काठमाडौं, 2023/03/10

गत शुक्रबारबाट प्रदर्शित फिल्म ‘छड्के २’ आफ्नो करिअरकै ठूलो डिजास्टर भएपछि सुपरस्टार अनमोल केसीले नवौं फिल्मसम्म आइपुग्दा आफू परिपक्व हुनुपर्नेमा त्यसमा चुक्न पुगेको स्वीकारोक्ति व्यक्त गरेका छन् । अनमोलले शुक्रबार आफ्नो फेसबुक तथा इन्स्टाग्राम एकाउन्टमा दुईवटा नोट लेख्दै ‘छड्के २’ले दर्शकलाई निराश बनाएकोमा आफू झनै दु:खी भएको उल्लेख गरेका छन् ।

 

अनमोल भन्छन्, 'भारतले नेपाललाई धेरै हेपेको छ'


उनी लेख्छन्, ‘मलाई थाहा छ, ‘छड्के २’मार्फत् मलाई माया गर्ने दर्शकहरूलाई निराश बनाएँ, जुन दर्शकहरूको साथको कारण म यहाँ आइपुगेँ, उहाँहरूलाई नै निराश बनाउँदा म झनै दु:खी भएको छु । ‘छड्के २’ मेरो नवौं सिनेमा थियो, यहाँसम्म आइपुग्दा म झनै परिपक्व हुनुपर्थ्यो, म चुक्न पुगेँ । विश्वस्त हुनुहोस्, यो समय पनि वितेर जान्छ, घाम डुबेपछि फेरि भोलि नयाँ विहानी हुन्छ ।’

भोलिको सुनौलो विहानी दर्शकसँग साट्ने बताउँदै अनमोलले दर्शकको दुखेका घाउहरुमा मल्हम लगाउने विश्वास दिलाएका छन् । केसी नोटमा अगाडि लेख्छन्, ‘अब नवौंपछिको दशौं फिल्म दशपछिको शून्य हटेपछि बन्ने ‘एक’ अर्थात् आज म शून्यमा छु र मेरो करिअरको पहिलो फिल्म मेरो दशौं फिल्म हुनेछ । अर्थात्, मेरो करिअरको दोश्रो सत्रको सुरुवात मेरो अबको फिल्मबाट हुनेछ ।’

शुभचिन्तक र दर्शकको साथ-सहयोग रहेसम्म आफ्नो कोशिश निरन्तर रहने अनमोलको वाचा छ । अंग्रेजीमा लेखेको अर्को नोटमा उनले ‘छड्के २’ आफूले लिएको ठूलो निर्णय भए पनि दर्शकको माया पाउन नसकेको स्वीकारेका छन् । ‘छड्के २’सँगै प्रदर्शनमा आएको ‘छक्का पञ्जा ४’ले गजबको व्यावसायिक बेन्चमार्क हासिल गरेकोमा फिल्मको टिमलाई उनले बधाई समेत दिएका छन् ।

 

anmol kc


‘एक व्यक्तिको रूपमा म एक सिकारु हुँ र यो यात्रामा नयाँ अनुभवहरु खोज्छु, जहाँ मैले नेपाली फिल्म उद्योगलाई आफ्नो मञ्चको रूपमा रोजेको छु । यो मेरो नवौँ फिल्म थियो र मैले जे गरें, आफू र मेरो कामप्रति सच्चा मनले गरेको छु । आशाको सकारात्मक किरणको साथमा निरन्तर माया र तपाईंहरुको सहयोगले मप्रतिको विश्वास फिर्ता ल्याउनेछु,’ उनले अंग्रेजी नोटमा लेखेका छन् ।

Most Visited News (monthly)