२०७५ सालको सफल फिल्म ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’को पखाई दर्शकको ठूलो वर्गमा व्यग्र छ । र, त्यतिक्कै अपेक्षा पनि उच्च छ । करिब दुई हप्ताअघि सार्वजनिक भएको ट्रेलरले फिल्म दृश्यभाषामा सशक्त बनेको छनक दिएको थियो । पहिलो श्रृंखलामा निःसन्तान दम्पतीले भोग्नुपरेको पीडा र समस्यालाई मुख्य विषयवस्तु बनाइएकोमा यसपटक जातीय विभेदको मुद्धा उठाइएको छ ।
भोलि सोमबार घोडेजात्राको अवसर पारेर फिल्मको पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक गरिँदैछ । यो गीत यसकारण पनि विशेष छ कि म्यूजिक भिडियोको सर्वाधिक लोकप्रिय जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीले नृत्य गरेका छन् । र, साथमा फिल्मका प्रमुख पात्र विपिन कार्की र केकी अधिकारी गीतमा प्रस्तुत छन् । उनीहरुलाई एकसाथ गीतमा हेर्न दर्शकलाई रोचक हुनसक्छ ।
सुशील पौडेलको कथामा तयार भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत छ । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । लभस्टोरी फिल्म निर्देशनमा उनको नाम उँचो छ । ‘प्रसाद २’लाई पनि आफूले उत्कृष्ट बनाउन प्रयास गरेको निर्देशक थापा बताउँछन् । त्यस्तै, रंग पत्रकार समेत रहेका लेखक पौडेल ‘प्रसाद’भन्दा ‘प्रसाद २’ राम्रो बनेको दाबी गर्छन् ।
सुभाष थापा प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । एजी फिल्मसँग सुलभ थापा प्रोडक्शनले सहकार्य गर्दै फिल्म बनेको हो । आगामी चैत २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी लगायतको पनि विशेष भूमिका छ । फिल्ममा विक्रम स्वारको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ ।