‘कबड्डी’ सिरिजका लेखक तथा झाँक्रीको भूमिकामार्फत् चर्चामा आएका उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको झन्डै चार मिनेटको ट्रेलरमा सन्तान नहुँदा लिम्बू दम्पती (दयाहाङ राई र मिरुना मगर) बीच उत्पन्न हुने कलह र लिम्बू परम्परामा प्रचलनमा रहेको जारी प्रथालाई देखाइएको छ ।
सन्तान नहुँदा श्रीमानबाट अपहेलित व्यवहार सहनुपरेपछि माइती हिँडेकी मिरुनाको हात रोयदीप श्रेष्ठले थाम्छन् । त्यसपछि जारी उठाउन दयाहाङको परिवारले मिरुनाको माइती पक्षलाई समस्यामा पार्न थाल्छ । ट्रेलरमा दयाहाङ रिसाहा पात्रको रुपमा प्रस्तुत छन् । केही दृश्यमा उनको चरित्रमा ‘कबड्डी’को बीरकाजीको झल्को देखिन्छ । यद्यपि, ट्रेलरले बलियो दृश्यभाषाको छनक गर्छ ।
‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ निर्माता रहेको फिल्ममा विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रेम सुब्बा, रेखा लिम्बुलगायतको पनि अभिनय छ । आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई शैलेन्द्र डि कार्कीले छायांकन गरेका हुन् । दयाहाङ र मिरुना ‘कबड्डी ४’पछि पुनः एकसाथ देखिन लागेका हुन् । यसकारण पनि ‘जारी’ दर्शकमाझ प्रतिक्षीत छ ।