आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको लक्ष्मण सुनारद्वारा निर्देशित फिल्म ‘बुलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा कर्णाली क्षेत्रमा प्रचलनमा रहेको जारी प्रथाको विकराल रुप देखाइएको छ । ट्रेलरमा फिल्मभित्रका तीन प्रमुख पात्रहरु सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टलाई केन्द्रमा राखिएको छ ।
कर्णाली क्षेत्रको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा, सन्तान नहुँदा वैवाहिक सम्बन्धमा आउने आरोह-अवरोहमा आधारित रहेको फिल्ममा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइसँगै प्रकाश कँडेल र सरस्वती खत्रीको पनि अभिनय छ । प्रकाश र सरस्वती दुवैको यो डेब्यू फिल्म हो ।
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्वर्गीय मोति बिष्टको प्रस्तुति रहेको फिल्मको निर्माता टोपेन्द्र विष्ट हुन् । शिव ढकालको छायांकन रहेको फिल्ममा अर्जुन जिसीको सम्पादन, राज बहादुर सानेको कथा, निर्मल पौडेल, राजबहादुर साने र निर्देशक लक्ष्मण सुनार तथा विराज विष्टको पटकथा तथा संवाद छ । डोल्पा, जाजारकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा फिल्म छायांकन भएको हो ।
ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री पन्तले फिल्मको माध्यमबाट जारी प्रथा अन्त्यको आवाज उठाउने प्रयास गरिएको बताइन् । ‘अहिले पनि कर्णालीमा जारी प्रथा यथावत् छ । र, यो चिज पूर्ण रुपमा हट्नु पर्छ भन्ने साझा अभियानले पनि यो फिल्म बनाउने कोशिश गरेका छौं,’ उनले भनिन् । आफूलाई अझै कर्णालीका महिलाहरुको पात्रमा अभिनय गर्ने इच्छा रहेको पन्तको भनाई छ ।