मिति : २०८१ आश्विन ११, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जारी’ र ‘बुलाकी’ : एउटै कथासार, एउटै रिलिज डेट

फिल्मीखबर, काठमाडौं, 2023/04/03

एउटै मितिमा एकभन्दा बढी फिल्म रिलिज हुनु अब सामान्य भैसकेको छ । यस वर्ष त झन् कोरोना महामारीले अड्किएका र नयाँ निर्माण भएका फिल्म एकै मितिमा भिडिरहेका छन् । आगामी बैशाख १ गते चार फिल्म ‘बुलाकी’, ‘नाईं नभन्नू ल ६’, ‘जारी’ र ‘बिहे पास’ भिड्दैछन् । यसमध्ये ‘बुलाकी’ र ‘जारी’को रिलिज डेट मात्र होइन, कथासार समेत एउटै छ । दुवै जारी प्रथामा बनेका हुन् ।

‘बुलाकी’ले कर्णाली क्षेत्रमा प्रचलनमा रहेको जारी प्रथाको विषयलाई बोलेको छ भने ‘जारी’ले लिम्बू समुदायमा रहेको जारी प्रथालाई मुख्य विषयवस्तु बनाएको छ । दुवै फिल्मको ट्रेलरले बलियो दृश्यभाषाको छनक दिन्छ । तर, एउटै कथासार भएका दुई फिल्म एकसाथ प्रदर्शनमा आउँदा दर्शक बाँडिने सम्भावना हुन्छ । यद्यपि, कथावस्तुका कारण दुवै फिल्मप्रति दर्शकमा अपेक्षा उच्च छ ।

 

bulaki and jari movie


‘बुलाकी’की मुख्य अभिनेत्री सुरक्षा पन्त दुई फिल्मको भिडन्तलाई स्वस्थ प्रतिस्पर्धाको रुपमा लिन्छिन् । उनले केही दिनअघि ट्रेलर रिलिज कार्यक्रममा भनेकी थिइन्, ‘दुईटा विभिन्न भेगको कथामा दुई फिल्म बनेको छ । आखिर नारीको दुःख र भोगाई त एउटै त रहेछ नि । र, मेरो विचारमा दुवै फिल्म हेर्नुपर्छ । जारी प्रथालाई अन्त्य गर्ने गरी बनेको दुवै फिल्मलाई हामी सबैले सहयोग गरौं ।’

जारी प्रथाको बारेमा विस्तृतमा थाहा दिन ‘बुलाकी’ बनेको सुरक्षाको भनाई छ । ‘जारी प्रथाको बारेमा हामी कतिलाई विस्तृतमा थाहै छैन । जारी प्रथा हुँदा समाजसँगै महिला र पुरुषको मनोविज्ञान के हुन्छ भन्ने बुझ्न र यो व्यवस्था अझै ‘प्राक्टिस’ भैराखेको छ भन्ने महसुस गराउन पनि यो फिल्म बनेको हो,’ उनले भनिन् । ‘बुलाकी’ले समाजमा परिवर्तन ल्याउन भूमिका खेल्ने उनको विश्वास छ ।

त्यस्तै, निर्देशक लक्ष्मण सुनारले ‘बुलाकी’ र ‘जारी’को थिम एउटै भए पनि दुवै फरक-फरक भूगोल र संस्कृतिमा बनेको स्पष्ट पारे । ‘हामीले पश्चिमको कथा भनेका छौं भने ‘जारी’ले पूर्वको कथा भनेको छ । उहाँहरुले आफ्नो कल्चरमा फिल्म बनाउनुभएको छ र हामीले आफ्नो कल्चरमा बनाएका छौं । दुवै फिल्मको स्क्रिनप्ले पनि फरक छ । यद्यपि, जारी प्रथा साझा कथा हो,’ सुनारले भने ।