नेपालको ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज भएको फिल्म ‘कबड्डी ४’ सुपरहिट भएपछि यो एपप्रति आकर्षण बढेको छ । यसैक्रममा, नयाँ वर्षको अवसर पारेर शुक्रबारबाट फिल्म ‘प्रेमगन्ज’ पनि उक्त एपमा रिलिज भएको छ । मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन आदि स्मार्ट डिभाइसहरुमा सःशुल्क फिल्म विश्वभरबाट हेर्न सकिने एपका सीइओ सागर खरेलले जानकारी दिए ।
गत भदौ ३ गते हलमा प्रदर्शन भएको फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । समीक्षकहरुले पनि फिल्मलाई रुचाएका थिए । तीन घन्टा लम्बाईको फिल्ममा अभिनेत्री बेनिशा हमाल र नव-अभिनेता तेज गिरीको काम प्रशंसनीय छ । निर्देशक परिच्छेद सेन फिल्मलाई ओटीटीमा दर्शकहरुले रुचाउनेमा विश्वस्त छन् । उनले युट्युबमा फिल्म कहिल्यै रिलिज नहुने पनि बताएका छन् ।
दुई कालखण्डको प्रेमकथामा आधारित फिल्ममा सम्पदा बानियाँ, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्का, रश्मी भट्ट, गीता अधिकारी, पवन भट्टराई आदिको पनि अभिनय छ । चलचित्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता राजु फुयाँल हुन् । सिनेमाघर एप सबै प्रकारका डिजिटल ग्याजेटहरु तथा स्मार्ट टीभीमा विश्वभर उपलब्ध छ ।