‘कबड्डी ४’ र ‘जारी’को सुपरहिट जोडी दयाहाङ राई र मिरुना मगरले तेस्रो पटक सहकार्य गरेको फिल्म ‘नाङ्गो गाउँ’ आगामी तीज छेकोमा प्रदर्शन हुने भएको छ । आइतबार एक पोस्टर सार्वजनिक गर्दै आगामी भदौ २९ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । यो मितिमा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र वर्षा राउत अभिनीत फिल्म ‘ऐँचो पैँचो’ पनि आउने सम्भावना प्रवल छ ।
पोस्टरले फिल्म राजनीतिक विषयमा केन्द्रित रहेको संकेत गर्छ । पोस्टरमा राजनीतिक दलको झन्डा बोकेर नारा लगाउँदै हिँडेका मानिसहरुको झुन्ड देखिन्छ भने पृष्ठभूमिमा टिनले छाएको ढुंगा-माटोका घरहरु र हरियाली फाँट छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झाको पनि अभिनय छ ।
मनिष्मा फिल्मस्को ब्यानरमा हिमाल शर्मा प्रस्तुतकर्ता रहेको फिल्ममा जय श्रेष्ठको लगानी छ । फिल्मका छायाँकार आलोक शुक्ला हुन् । निर्देशक लामाले फिल्मको कथावस्तु गाउँमा केन्द्रित रहेको बताए । फिल्ममा सामाजिक कथावस्तुलाई बलियो तरिकाले प्रस्तुत गरिएको उनको दाबी छ । दीपेन्द्रले यसअघि ‘२ नम्बरी’, ‘घामपानी र गोपी’ गरी तीनवटा फिल्म निर्देशन गरिसकेका छन् ।