रंग पत्रकारिता हुँदै फिल्म निर्देशनमा होमिएका लक्ष्मण सुवेदीले ७ वर्षपछि फिल्म ‘सतीदेवी’बाट निर्देशनमा पुनरागमन गरेका छन् । निर्माण अगावैदेखि नामका कारण चर्चामा रहेको फिल्मको सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा मुहूर्त गर्दै बाफलस्थित एक घरबाट छायांकन सुरु गरिएको छ । काठमाडौंमा आज साँझसम्म छायांकन गरेपछि निर्माण टिम भोलि लमजुङतर्फ लाग्नेछ ।
लमजुङस्थित मध्यनेपाल नगरपालिकाको विभिन्न स्थानमा छायांकन हुने फिल्ममा अभिनेत्री मालिका महत मुख्य भूमिकामा छिन् । भोलाराज सापकोटा, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दिप बाबु लोहनी, सुजिता सिवाकोटी, विमल श्रेष्ठ, तुलसी प्रसाद श्रेष्ठ, मनिषा सापकोटा, सृजना अधिकारी, बाल कलाकारहरु हर्षिका वली र मन्जिला बानियाँको पनि फिल्ममा अभिनय देख्न पाइनेछ ।
फिल्ममा निर्देशक सुवेदीकै गीत, स्क्रिप्ट र निर्माण छ । बाबु श्रेष्ठको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र देव महर्जनको द्वन्द्व निर्देशन रहने फिल्मका गीतमा दीपक शर्मा र सुभाष भुषालले संगीत भरेका छन् । फिल्ममा मालिका टाइटल क्यारेक्टरमा देखिनेछिन् । एक महिनाको छायांकन सेड्युल राखिएको फिल्मलाई दशैं आसपासमा रिलिज गर्ने निर्देशक सुवेदीको योजना छ ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया र दिलासा क्रियशनबीच सहकार्य रहेको फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर नछाड्ने सुवेदीले बताए । उनले भने, ‘मैले स्क्रिप्ट लेखनमा लामो समय खर्चेको छु । पटक-पटक ‘रि-राइट’ र धेरै जनासँग छलफल गरेको छु । स्क्रिप्ट चित्त बुझेपछि मात्र छायांकन थालेको हुँ । स्क्रिप्ट जतिक्कै फिल्म पनि अब्बल बनाउन सक्छु भन्ने विश्वास छ ।’