अभिनेता गौरव पहारीको फिल्ममा व्यस्तता बढ्न थालेको छ । उनले गत हप्ता मात्र फिल्म ‘नम्बरी सुन’को छायांकन पूरा गरेका थिए । यसलगत्तै उनी फिल्म ‘दुई कदम’को छायांकनमा व्यस्त भएका छन् । फिल्ममा उनको जोडी अभिनेत्री विमला लिम्बुसँग बाँधिएको छ । सुटिङ सेटबाट फिल्मको टिमले उपलब्ध गराएको तस्बिरहरुमा गौरव र विमला रोमान्टिक भावमा देखिएका छन् ।
उदय सुब्बाको निर्देशन रहेको फिल्मको अब २० प्रतिशत छायांकन हुन बाँकी छ । मुस्ताङमा एक गीतको छायांकनपछि यतिबेला पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा छायांकन भैरहेको फिल्ममा दयाराम घिमिरेको कथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व र रामजी लामिछानेको कोरियोग्राफी छ ।
अजम्बरी फिल्म्सको ब्यानरमा तारादेवी लिम्बुको निर्माण रहेको फिल्ममा सुनिल थापा (राते काइँला), बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, अर्जुन गुरुङ ‘भंगेरी’, कविता आले मगर, चन्दा दाहाल, जीवन लिम्बुलगायतको अभिनय छ । फिल्मलाई आगामी भदौमा प्रदर्शनको तयारी गरिएको छ । गौरवले धेरै समयपछि फरक प्रेमकथामा काम गर्न पाउँदा खुशी लागेको बताएका छन् ।