अभिनेत्री आना शर्माले अभिनय गरेको फिल्मको सूची लामो छैन । करिअरको ८ वर्षमा उनले जम्मा ३ वटा फिल्ममा मात्र अभिनय गरेकी छन् । उनको डेब्यू फिल्म ‘जेरी’ बक्सअफिसमा सफल भएको थियो । त्यसपछि उनले अभिनय गरेका दुई फिल्म ‘ग्यांगस्टर ब्लूज’ र ‘द म्यान फ्रम काठमाण्डू’ सफल हुन सकेनन् । र, विगत चार वर्षदेखि उनका कुनै पनि फिल्म प्रदर्शनमा आएका छैनन् ।
यस वर्ष भने फिल्म रिलिजमा उनको ह्याट्रिक हुने भएको छ । बुधबार फिल्म ‘ज्याकी : आइ एम ट्वान्टी वान’को प्रिमियरमा पुगेकी उनले यो वर्ष आफ्ना तीन फिल्म रिलिज हुने सञ्चारकर्मीलाई जानकारी गराइन् । हालै आफूले फिल्म ‘मायाको माया’को छायांकन सकाएको जानकारी दिँदै उनले चाँडै ‘जेरी २’को छायांकन गर्न लागेको बताइन् । तेस्रो फिल्मको बारेमा भने आना खुल्न चाहिनन् ।
डान्स ड्रामा फिल्म ‘ज्याकी’ हेरेपछि आनालाई पनि डान्स फिल्म गर्ने इच्छा पलाएको छ । डान्समा रुचि राख्ने उनले भनिन्, ‘मलाई डान्स फिल्म गर्न एकदमै मन छ । ‘जेरी अन टप’को गीतमा मेरो यो इच्छा पूरा हुन्छ होला सायद । मैले प्रोड्युसर (सरोज न्यौपाने) दाईलाई फिल्ममा एउटा डान्स सङ राख्नुपर्छ भनेको छु ।’ उनले ‘जेरी अन टप’मा ८ वर्षपछि अनमोल केसीसँग काम गर्दैछिन् ।
८ वर्षमा अनमोलमा आफूले धेरै परिवर्तन देखेको उनको भनाई छ । ‘मैले अनमोलसँग वर्कसप गर्दाखेरी व्यक्तिगत र व्यावसायिक दुवै रुपमा एकदमै परिवर्तन देखेँ । उसले अझ राम्रो गरिरहेको देखेर खुसी लाग्यो,’ उनले भनिन्, ‘ऊ मेरो पहिलो को-एक्टर हो, त्यसले गर्दा पनि फेरि काम गर्न उत्साहित छु ।’ आना आजभोली गायक सुशान्त केसीसँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन् ।