अभिनेत्री शिल्पा मास्के पहिलो पटक फिल्ममा बोल्ड भूमिकामा देखिने भएकी छन् । आगामी असार १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परस्त्री’को शुक्रबार सार्वजनिक पोस्टरमा उनी जुन रुपमा प्रस्तुत छिन्, त्यसले ‘सरप्राइज’ बनाउँछ । सार्वजनिक चारवटा पोस्टरमध्ये कुनैमा उनी बोल्ड त कुनैमा बाथटबमा न्यूड देखिएकी छन् । यसले उनको भूमिकाप्रति कौतुहलता जगाउँछ ।
पहिलो पोस्टरमा शिल्पा रातो रंगको वान पिसमा विछ्यौनामा डोरीले दुईवटै हात र रातो पट्टीले आँखा बाँधिएको अवस्थामा चित्रित छिन् । दोस्रो पोस्टरमा रगताम्मे बाथटबमा उनी न्यूड देखिएकी छन् । तेस्रो पोस्टरमा दुई नायकको बीचमा उनको टाउकोमुनिको शरीर देखाइएको छ, जसमा उनको कामुकता झल्किन्छ । चौंथो पोस्टरमा उनी रातो रंगको लामो पहिरनमा बोल्ड देखिएकी छन् ।
सुरज पाण्डेको डेब्यू निर्देशनमा तयार भएको फिल्ममा शिल्पासँगै कोशिश क्षेत्री, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मालगायतको पनि अभिनय छ । शर्मिला पाण्डे निर्माता रहेको फिल्म नेपालकै मितिमा भारतमा समेत प्रदर्शन हुनेछ । केही दिनदेखि भारतको एक स्टुडियोमा ‘परस्त्री’को हिन्दी स्वरांकन (डबिङ)को काम भैरहेको छ । जसका लागि सुरज र शर्मिला यतिबेला भारतमा छन् ।
डिएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्मको कथा ‘पशुपति प्रसाद’, ‘आमा’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालले लेखेका हुन् । फिल्मका छायांकन निरज पाण्डे हुन् । थ्रिलर जनरामा निर्माण भएको फिल्मले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा उठाएको छ । फिल्मका लेखक खनाल सुरजको निर्देशकबाट आफू एकदमै सन्तुष्ट रहेको बताउँछन् ।