फिल्मका दर्शकका लागि प्रमिला खनाल नयाँ नाम हुनसक्छ । उनले केही फिल्महरुमा अभिनय गरेको भएपनि कमैले ‘नोटिस’ गरे । तर, नाटकमा उनले अभिनयको जादू छरिसकेकी छन् । फिल्ममा भने उनले अभिनय देखाउने खालको सशक्त भूमिका पाएकी थिइनन् । आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हुक्काः एन एब्जर्ड ड्रिम’मा भने उनी प्रमुख भूमिकामा छिन् ।
यसै साता सार्वजनिक भएको ट्रेलरमा प्रमिलाले श्रीमानसँग चर्काचर्की हुँदा बोलेको ‘आगोसागो मुतेर निभाइदिन्छु’ भन्ने संवाद अहिले टिकटकमा निकै चर्चित छ । यो संवादले पनि फिल्ममा उनी साहसी र निडर महिलाको भूमिकामा रहेको बुझ्न सकिन्छ । आफ्नो भूमिकाबारे उनी भन्छिन्, ‘डिभोर्सपछि माइतमै बसेकी एक छोरीकी आमा र गाउँकी मुखियाकी छोरीको चरित्रमा देखिएकी छु ।’
उनले लकडाउनपछि यो फिल्म गरेकी हुन् । लकडाउनमा धेरै समय घरमै बसेकी प्रमिलाले त्यही समयमा ‘हुक्का’को स्क्रिप्ट पढिन् । आफ्नो चरित्रले फिल्ममार्फत् देखाउन खोजेको विषयवस्तु निकै मन परेपछि उनी अभिनय गर्न तयार भइन् । कोरोनाले सुनसान बनेको चार भञ्ज्याङ (काठमाडौं)बाट टाढा बसेर काम गर्ने मौका पाएकाले पनि यो फिल्म गुमाउन नचाहेको उनी स्मरण गर्छिन् ।
प्रमिलाको बुझाईमा ‘हुक्का’ले नेपाली समाजको वास्तविक कथा बोल्छ । उनलाई फिल्मको विषयवस्तुमा समाजले अपनत्व महसुस गर्छ भन्ने लाग्छ । प्रमिला यो समय मातृत्वकालको अनुभव लिइरहेकी छन् । फिल्ममा पनि उनले एउटी छोरीकी आमाको चरित्र निभाएकी छन् । फिल्मले एउटी आमाको छोरीप्रतिको दायित्व, कर्तव्य र सम्बन्ध निकै सुन्दर र प्रगाढ देखाएको उनको भनाई छ ।
फिल्मलाई प्रमिला ‘लोकल चामल’को रुपमा ब्याख्या गर्छिन् । नेपालीलाई ‘लोकल चामल’को स्वाद थाहा भैरहेको बेला यो फिल्मले त्यो स्वाद दिने उनको विश्वास छ । ‘हामीले कुनै भयङ्कर फरक र डरलाग्दो विषय पनि उठाएका छैनौं । तर जे भन्न र देखाउन खोजेका छौं, त्यो चाहिँ फरक तरिकाले देखाउने प्रयास गरेका छौं । र, दर्शकलाई फिल्म मनपर्नेमा विश्वस्त छु,’ प्रमिला सुनिइन् ।
शम्भु थापाद्वारा निर्देशित फिल्ममा प्रमिलासँगै, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय रहेको छ । रेश्मा प्रधान सह-निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता, कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता रहेको फिल्मलाई स्टेसन फाइभ र एफडी कम्पनीले वितरण गर्दैछ ।