मिति : २०८१ कार्त्तिक ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जसिताको फ्लपमा ह्याट्रिक

फिल्मीखबर, काठमाडौं, 2023/05/12

अभिनेत्रीको जुन मानक बनेको छ, त्यसमा अटाउने नाम हो, जसिता गुरुङ । अभिनेत्रीमा हुनुपर्ने सबै गुण छ उनमा । सुन्दरताको चर्चा हुँदा उनको नाम छुट्दैन । अभिनयमा पनि उनले आफ्नो कला देखाइसकेकी छन् । फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’बाट उनले नृत्यमा पनि आफूलाई प्रमाणित गरेकी छन् । तर, उनका लागि फिल्मको सफलता भने ‘आकाशको फल’ झैँ बनिरहेको छ ।

फिल्म ‘लिलिबिली’बाट उनको डेब्यू भयो । यसमा उनको अभिनय र सुन्दरतासँगै अभिनेता प्रदीप खड्कासँगको केमेस्ट्री दर्शकले निकै रुचाए । तर, फिल्म औसत मात्र चल्यो । लगानी उठाउन सकेन । यसपछि दोस्रो फिल्मको रुपमा उनले ‘लभ स्टेशन’ गरिन्, जसमा प्रदीपसँग नै उनको जोडी बाँधियो । एक विदेशी फिल्म सिंगै चोरेर बनाइएको यो फिल्म बक्सअफिसमा दुर्घटनाग्रस्त भयो ।

 

jasita gurung


उनी अभिनीत तेस्रो फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ अहिले प्रदर्शनरत छ । यो फिल्मका लागि जसिताले नृत्यमा २ वर्ष कठोर मिहिनेत गरेकी थिइन् । उनले गरेको मिहिनेत पर्दामा देखिन्छ पनि । तर, पटकथा र प्रस्तुतीकरणमा चुकेको फिल्म व्यापारमा पनि नराम्रोसँग चुकेको छ । र, योसँगै उनले फ्लप फिल्ममा ह्याट्रिक गरेकी छन् ।  यो फिल्मको असफलताले उनी स्तब्ध बनेकी छिन् ।

अब उनी फिल्म छनोटमा थप गम्भीर हुनुपर्ने देखिन्छ । फ्लप फिल्मको संख्या थपिनु कलाकारको करिअरका लागि सुखद होइन । लामो करिअरका लागि फिल्मको सफलता अनिवार्य मानिन्छ । यसैले जसितालाई अब हिट फिल्मको खाँचो छ । उनले २०७६ मा अनमोल केसीको अपोजिटमा रहने गरी फिल्म ‘एन्टी हिरो’ सम्झौता गरेकी थिइन् । तर, अब यो फिल्म बन्छ या बन्दैन अन्योल छ ।

‘ज्याकी’को प्रिमियरमा जसिताले लाइनअपमा राम्रो-राम्रो फिल्म रहेको बताएकी थिइन् । उनले राम्रो भनेको फिल्म दर्शकलाई चाहिँ कति राम्रो लाग्छ, त्यो महत्त्वपूर्ण हो । ‘ज्याकी’ पनि उनलाई राम्रै लागेको थियो तर दर्शकले फिल्ममा राम्रो पक्षभन्दा खोट ज्यादा देखे । यसैले उनले संयमता अपनाएर फिल्म छनोट गर्न आवश्यक छ । नभए त ओरालो लागेको मृगलाई बाछोले पनि लखेट्छ ।

Most Visited News (monthly)