बलिउडका ठूला सुपरस्टारका फिल्मलाई समेत सय करोड कमाउन असम्भव भैरहेको बेला अघिल्लो हप्ता प्रदर्शन भएको फिल्म ‘द केरला स्टोरी’ले ९ दिनमै सय करोडभन्दा बढीको कमाई गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फेसबुकमार्फत फिल्मले ९ दिनमा १ सय १२ करोड ९९ लाख कमाएको जानकारी गराएका छन् । उनले फिल्मको कमाईलाई ‘घोडाको रफ्तार’ भनेका छन् ।
८ करोडको ओपनिङ गरेको फिल्मले दिनहुँ व्यापारमा उछाल ल्याइरहेको छ । फिल्मले प्रदर्शनको दोस्रो दिनदेखि १० करोडभन्दा कम अंक जोडेको छैन । दोस्रो हप्तामा फिल्मको व्यापार थप बलियो छ । दोस्रो हप्ताको शुक्रबार १२ करोड ३५ लाख कमाएको फिल्मले शनिबार १९ करोड ५० लाख जोडेको छ । यस वर्ष छोटो समयमा नै सय करोड कमाउने यो दोस्रो बलिउड फिल्म हो ।
बलिउडकै इतिहासमा २ दिनमा सय करोड कमाउने फिल्मको रेकर्ड ‘पठान’को नाममा छ । यो यसै वर्ष प्रदर्शनमा आएको थियो । ९ दिनमा सय करोड कमाएर ‘द केरला स्टोरी’ दोस्रो स्थानमा रहँदा फिल्म ‘किसीका भाई किसीकी जान’ १० दिनमा सय करोड कमाएर तेस्रो स्थानमा छ । चौंथो स्थानमा फिल्म ‘तू झुठी मैं मक्कार’ छ, जसले प्रदर्शनको ११ दिनमा सय करोड कमाएको थियो ।
सुदीप्तो सेन निर्देशित ‘द केरला स्टोरी’को कमाई थप बलियो हुँदै गएकाले तेस्रो हप्ताको विकेन्डसम्ममा दुई सय करोडको आँकडा पनि नाघ्न सक्ने विश्लेषण गरिएको छ । २८ करोडको लागतमा बनेको फिल्मले ‘पठान’भन्दा पनि बढी मुनाफा कमाउने देखिएको छ । चर्को विरोध र विवादका बीच प्रदर्शन भैरहेको फिल्मले फरक-फरक धार्मिक पृष्ठभूमिका तीन युवतीको कथा उठाएको छ ।