मिति : २०८१ मंसिर २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२६ वर्षपछि हरिवंशले जिते उत्कृष्ट अभिनेताको अवार्ड

फिल्मीखबर, काठमाडौं, 2023/05/14

नेपालमा आयोजना हुने प्रायः अवार्डमा उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री विधाको अवार्डमा उमेरको हकबन्दी जस्तै छ । ४०-४५ वर्षमाथिका कलाकारहरुले यो विधाको अवार्ड जितेको ज्यादै कम उदाहरण छन् । तर, यो गलत अभ्यास हो । फिल्मको केन्द्रीय भूमिकामा रहेको कलाकारले जीवन्त अभिनय गरेको छ भने ऊ अवार्डको बलियो हकदार हुन्छ । त्यसमा उमेरले माइने राख्दैन ।

शुक्रबार काठमाडौंमा आयोजित ‘एलजी सिने अवार्ड’मा केही फरक दृश्य देखियो । धेरैले त्यस अवार्डमा फिल्म ‘प्रकाश’बाट प्रदीप खड्काले उत्कृष्ट अभिनेताको अवार्ड जित्ने आँकलन गरेका थिए । तर, उक्त अवार्ड अघिल्लो वर्षको सुपहिट फिल्म ‘महापुरुष’बाट कलाकार हरिवंश आचार्यले प्राप्त गरे । उत्कृष्ट अभिनेताको अवार्ड जित्न उमेर बाधक होइन भन्ने यो एउटा बलियो नजीर पनि हो ।

 

Hari Bansha Acharya


हरिवंशले २६ वर्षपछि उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् । २०५४ सालमा प्रदर्शन भएको फिल्म ‘बलिदान’बाट उनले उत्कृष्ट अभिनेताको केही अवार्डहरु जितेका थिए । त्यसपछि उनले आधा दर्जन बढी फिल्ममा अभिनय गरे पनि यो विधाको अवार्ड जित्न सकेका थिएनन् । ‘बलिदान’पछि उनले गम्भीर भूमिका निभाएको पनि ‘महापुरुष’मा हो । फिल्ममा उनको सशक्त अभिनय थियो ।

‘बलिदान’पछि उत्कृष्ट अभिनेताको अवार्ड पाएकोमा उनले खुसी व्यक्त गरे । ‘मैले टेलिफिल्मबाट धेरै उत्कृष्ट अभिनेताको अवार्ड पाएको छु । फिल्मतर्फ भने मैले फिल्म नै कम मात्र गरेको छु । अहिले अवार्ड पाइयो, ठीकै छ,’ उनले सञ्चारकर्मीसँग भने, ‘मैले ‘बलिदान’पछि गम्भीर भूमिकामा काम गरेको ‘महापुरुष’मा हो । यसका लागि निर्देशक र सिंगो टिमप्रति म सधैं नै कृतज्ञ रहनेछु ।’

कलाकार आचार्यसँगै एउटै स्टेजमा फिल्म ‘झिँगेदाउ’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालेकी केकी अधिकारी हरिवंश आचार्यले उत्कृष्ट अभिनेताको अवार्ड जित्नु फिल्म क्षेत्रकै लागि स्मरणीय क्षण मान्छिन् । ‘उमेर जाँदैगर्दा मैले काम पाउँदिनँ होला, अवार्डेड हुँदिनँ होला भनेर सोच्ने तमाम कलाकारहरुलाई हरिवंश दाईले अवार्ड जित्नु एउटा स्मरणीय दिन हो जस्तो लाग्छ,’ केकीले भनिन् ।

Most Visited News (monthly)