मिति : २०८१ मंसिर १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बासुदेव’को रिमेक बनाउने बरुणको इच्छा

फिल्मीखबर, काठमाडौं, 2023/06/02
नेपाली फिल्ममा ठूला व्यापारिक घरानाको उपस्थिति शून्य बराबर नै छ । एकदमै जोखिमपूर्ण व्यवसाय भएकाले पनि ठूला घरानाहरु फिल्म निर्माणमा आकर्षित हुन नसकेको देखिन्छ । यद्यपि, कुनै समय देशकै सबैभन्दा ठूलो घराना चौधरी ग्रुपले ‘बासुदेव’ जस्तो कालजयी फिल्मको निर्माण गरेको थियो । २०७० सालतिर फिल्म ‘भिसा गर्ल’को पनि निर्माण गर्‍यो । यसपछि भने यो घराना फिल्म निर्माणमा पछाडि सरेको छ ।
 
सिने सर्कल अवार्ड (मुख्य प्रायोजक)मार्फत् नेपाली फिल्मसँग साइनो गाँसिरहेको चौधरी ग्रुपले के अब फिल्म निर्माण चाहिँ गर्दैन ? धेरैलाई चासो छ । हालै पत्रकार राज श्रेष्ठसँगको टेलिभिजन अन्तर्वार्तामा चौधरी ग्रुपका कार्यकारी निर्देशक बरुण चौधरीले फिल्म निर्माणमा फर्किने संकेत गरे । उनले भने, ‘चौधरी ग्रुपले भविष्यमा फिल्म बनाउँदैन चाहिँ भन्दिनँ । तर, अहिलेलाई हेर्दै जाउँ । यो बाटोले कहाँ लगेर पुर्‍याउँछ ।’
 
barun chaudhary
 
बरुणलाई भने पिता विनोद चौधरीले सन् १९८४ मा निर्माण गरेको ‘बासुदेव’को रिमेक बनाउने ठूलो इच्छा रहेछ । उनी अन्तर्वार्तामा भन्छन्, ‘मेरो खासमा त इच्छा ‘बासुदेव’को रिमेक बनाउने छ । भविष्यमा यसको रिमेक बन्यो भने अचम्म नमान्दा हुन्छ ।’ उनी नेपाली फिल्मलाई उदाउँदो इन्डस्ट्रीको रुपमा परिभाषित गर्छन् । फिल्म ‘रिक्स विजनेश’ भए पनि दर्शकको मनोविज्ञान बुझ्न सक्ने हो भने लगातार राम्रो फिल्म बनाउन सकिने उनको धारणा छ । 
 
नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने योजना बरुणको छ । यसका लागि उनी नेपाली र बलिउड इन्डस्ट्रीबीच सहकार्यको प्रयासमा छन् । ‘बीचमा ‘प्रेमगीत ३’ भारतमा रिलिज भयो । यो एकदमै स्वागत कदम हो । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने मेरो पनि सोच हो,’ उनी भन्छन्, ‘हाम्रो अबको ढोका भनेको बलिउड नै हो । त्यहाँको कलाकारहरुसँग कसरी मिलेर काम गर्ने, त्यहाँको फिल्म नेपालमा कसरी छायांकन गर्ने र यहाँको फिल्म कसरी भारतमा छायांकन गर्ने भन्ने कुरामा म लागिरहेको छु ।’ 
 
उनलाई अहिले नेपाली फिल्म क्षेत्र धेरै व्यवस्थित भैसकेको लाग्छ । र, उनी नेपाली फिल्मको भविष्य राम्रो देख्छन् । ‘मैले नेपाली फिल्म क्षेत्र धेरै व्यवस्थित भैसकेको पाएको छु । र, मलाई लाग्छ नेपाली फिल्म इन्डस्ट्रीको भविष्य एकदमै राम्रो छ । कन्टेन्ट बुझ्न सक्ने हो, त्यसको पृष्ठभूमि बुझ्ने सक्ने हो र त्यो कन्टेन्टलाई प्रस्तुत गरेर राम्रो फिल्म बनाउने क्षमता छ भने नेपाली फिल्मले ठूलो फड्को मार्न सक्छ,’ उनको बुझाई छ ।