सन् २००९ देखि अभिनेता शाहिद कपूरको करिअर ओरालो लाग्न थालेको थियो । एकपछि अर्को फिल्म असफल भैरहेका थिए । तर, सन् २०१९ मा आएको फिल्म ‘कबीर सिंह’ले उनलाई फेरि एकपटक उचाइँमा पुर्यायो । २०२२ मा आएको उनकै नयाँ फिल्म ‘जर्सी’ भने नराम्रोसँग डुब्यो । यसपछि उनले ‘फर्जी’ र ‘ब्लडी डेडी’ वेब सिरिजमा काम गरे । अब उनी फिल्म गर्ने तयारीमा छन् ।
उनको पाइपलाइनमा मलयालम निर्देशक रोशन एन्ड्रयूजको एउटा एक्सन थ्रिलर फिल्म छ । जसमा उनको अपोजिटमा अभिनेत्री पूजा हेगडे देखिँदैछिन् । यो फिल्मका लागि उनले ठूलो स्केलमा पारिश्रमिक घटाएको बलिउड हंगामाले दाबी गरेको छ । ‘ब्लडी डेडी’का लागि ४० करोड लिएका शाहिदले उक्त फिल्ममा २५ करोड बुझेका छन् । अर्थात् १५ करोड पारिश्रमिक घटाएका छन् ।
स्रोतको भनाई उद्धित गर्दै बलिउड हंगामाले लेखेको छ, ‘वेब सिरिज ‘फर्जी’को सफलता र अब ‘ब्लडी डेडी’पछि शाहिदको ब्रान्ड भ्यालू निकै बढेको छ । यसका बावजूद पनि उनले पारिश्रमिकको मामिलामा मेकरलाई निराश बनाएका छैनन् । वेब सिरिजमा ४० करोड बुझेका उनले फिल्मका लागि १५ करोड घटाएका छन् ।’ ‘कबीर सिंह’को सफलतापछि फिल्ममा शाहिदको माग उच्च छ ।