दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ्फ)मा फिल्म ‘झिँगेदाउ’बाट मुकुन्द भुषाल उत्कृष्ट अभिनेता र फिल्म ‘प्रकाश’बाट दीया मास्के उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । जेठ २६ र २७ गते काभ्रेको भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालयमा आयोजना भएको महोत्सवको शनिबार समापन समारोहमा दुवैले अवार्ड ग्रहण गरे । सोही महोत्सवमा ‘झिँगेदाउ’ उत्कृष्ट फिल्म पनि घोषित भएको छ ।
त्यस्तै, ‘प्रकाश’ले जुरी अवार्ड र उत्कृष्ट पटकथा लेखन (विकास सुवेदी) अवार्ड पनि जितेको छ । उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गरे भने यही फिल्मले उत्कृष्ट छायाँकारको अवार्ड पनि जित्यो । चलचित्र विकास बोर्डसँगको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा १६ वटा फिचर र लघु फिल्म छनोट भएका थिए ।
महोत्सवमा ‘आफ्नै कर्म’ (गुरुङ फिल्म)ले उत्कृष्ट भाषिक फिल्म अवार्ड, ‘हल्कारा’ले उत्कृष्ट डकुमेन्ट्री अवार्ड, ‘कथा एकादेशको’ले उत्कृष्ट सर्ट फिल्म निर्देशक म्युजिकल्ली अवार्ड, ‘परिवर्तन’ले उत्कृष्ट सर्ट फिल्म निर्देशक, अभिनेता र जुरी अवार्ड, ‘चरित्र’ले उत्कृष्ट सर्ट फिल्म र अभिनेत्रीको अवार्ड जित्न सफल भएको छ । महोत्सवमा दुई दर्जनभन्दा बढी फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो ।
महोत्सवको जुरी टिममा फिल्म सम्पादक भरत रेग्मी, निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा र कलाकार सुवास गजुरेल थिए । महोत्सवमा सोही क्षेत्र (काभ्रे)मा जन्मिएर फिल्म क्षेत्रमा सक्रिय तीनजना फिल्मकर्मीहरु जनक खकुरेल (निर्देशक), राज तिमल्सिना (अभिनेता) र उत्तमप्रसाद अधिकारी (निर्देशक)लाई सम्मान गरियो भने अशेष अधिकारीलाई नगदसहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
शनिबार निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र ओस्कार कलेजका प्रिन्सिपल रामराजा दाहालको ‘मास्टर क्लास‘ समेत आयोजना गरिएको थियो । त्यस्तै, अभिनेता मुकुन भुसालले केही समय विद्यार्थीहरुसँग फिल्मको बारेमा आफ्नो अनुभव सुनाएका थिए । ग्रामीण परिवेशमा बनेका मौलिक फिल्मलाई महोत्सवमा सहभागी गराइएको थियो ।