मिति : २०८१ कार्त्तिक ३०, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.75/5.00)
Text size:-
+
-

फोटोग्राफीका सौखिन सारुकलाई फिल्म मेकिङमा थियो रुचि

फिल्मीखबर, काठमाडौं, 2023/07/07

एउटा मर्मस्पर्शी लाइन छ, ‘थाहा हुन्न कुन रात अनि कुन बात अन्तिम हुन्छ ।’ बिहीबार दिउँसोसम्म फिल्म ‘ह्यासट्याग माया’को छायांकन गरेका अभिनेता सारुक ताम्राकारको त्यही दिन अन्तिम हुन्छ भन्ने कसलाई थाहा थियो र ! बिहीबार साँझ उनी अनन्त यात्रामा निस्किएका छन् । उनी रातोपुलस्थित निजी निवासमा मृत अवस्थामा भेटिए । उनको निधनले फिल्म क्षेत्र स्तब्ध बनेको छ ।

 

saruk tamrakar


फिल्म ‘रानी’बाट उनले अभिनेताको रुपमा डेब्यू गरेका थिए । फिल्म व्यावसायिक रुपमा सफल हुन नसके पनि उनले अभिनयमा राम्रो सम्भावना देखाएका थिए । यसपछि उनले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डनमा’ फिल्ममा काम गरे । करिब ४ वर्षपछि उनले ‘ह्यासट्याग माया’बाट फिल्ममा कमब्याक गरेका थिए । तर, फिल्मको छायांकन पूरा नहुँदै उनले अकल्पनीय निर्णय लिएका छन् ।

उनलाई अभिनयसँगै फोटोग्राफीप्रति पनि निकै रुचि थियो । उनका सामाजिक सञ्जाल हेर्ने हो भने पनि उनको फोटोग्राफी कौशल देखिन्छ । उनले फोटोग्राफी सिक्न र बुझ्नका लागि केही समय तालिम समेत लिएका थिए । त्यो तालिमले उनको फोटोग्राफीप्रति सोचाई नै परिवर्तन गरायो । उनलाई राम्रो र नराम्रो फोटोग्राफीबारे ज्ञान हुन थाल्यो । बल्ल उनले क्यामेराको तागत बुझेका थिए ।

उनलाई फिल्म मेकिङप्रति पनि उतिक्कै रुचि थियो । फिल्मभन्दा अगाडि उनले सर्ट फिल्म ‘इन ट्रान्समिसन’मा काम गरेका थिए । यसमा उनले ‘असिस्टेन्ट डाइरेक्टर’को रुपमा काम गर्नुका साथै सम्पादन पनि गरेका थिए । उक्त सर्ट फिल्म विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा प्रदर्शन भएर सकारात्मक प्रतिक्रिया पाएको थियो । यही सर्ट फिल्मपछि हो, उनलाई अभिनयमा रुचि पलाएको ।

उक्त सर्ट फिल्म बुबा (कलाकार सानु ताम्राकार)ले हेरेपछि काँधमा धाप मारेको क्षणलाई सारुक जीवनकै सबैभन्दा खुसीको पल मान्थे । उनले त्यो क्षण स्मरण गर्दै एक अन्तर्वार्तामा भनेका थिए, ‘बुबाले सर्ट फिल्म हेरेपछि स्याबासी दिँदै काँधमा धाप मार्नुभएको थियो । त्यो नै मेरो जीवनको सबैभन्दा खुसीको क्षण थियो । त्यसपछि अब अभिनय नै गर्छु भन्ने अठोट लिएर थिएटर ज्वाइन गरेँ ।’

सारुकले निर्देशक साम्तेन भुटियाको फिल्म ‘त्यान्द्रो’मा पनि ‘असिस्टेन्ट डाइरेक्टर’को रुपमा काम गरे । उनी आफैँले साम्तेनलाई यो प्रस्ताव राखेका थिए । अनि साम्तेनले सारुकको लगनशिलताको परीक्षा लिन एउटा कोठा सफा गरेर भित्तामा स्क्रिप्ट टाँस्ने काम दिए । सारुकले त्यो काम भत्ते गरे । उनको लगनशिलता देखेर निर्देशक भुटियाले उनलाई ‘त्यान्द्रो’मा आफ्नो ‘असिस्टेन्ट’ बनाए ।

 

saruk tamrakar 2


सारुकले सर्ट फिल्म ‘आशा’, ‘हाइड’ र ‘द रिक्सा कारपूल राइड’को निर्देशनसँगै केही डकुमेन्ट्री पनि बनाएका छन् । चार वर्षअघि एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘केही सर्ट फिल्म बनाउने छु । फिचर भनेको चाहिँ मजाक होइन । फिल्म मेकिङ एकदमै चुनौतीपूर्ण काम हो ।’ उनलाई फिचर फिल्म निर्देशन गर्ने पनि इच्छा थियो । तर, त्यो सपना उनको मृत्युसँगै अधुरो बन्न पुगेको छ ।

‘रानी’मा लभर ब्वाई, ‘मेरी मामु’मा जिम्मेवार पिता र ‘इन्टु मिन्टु लण्डनमा’मा आर्मीको भूमिका निर्वाह गरेका सारुकलाई फिल्ममा रकस्टारको भूमिकामा काम गर्ने इच्छा थियो । उनी भन्थे, ‘मलाई रकस्टारको क्यारेक्टर गर्न मन छ । नेपालमा भने रकस्टारप्रतिको बुझाई नै अर्को छ । गिटार बजाएपछि रकस्टार भइन्छ भन्ने सोचिन्छ । तर त्यो मात्रै हैन । क्रेजी रकस्टारको भूमिका गर्न मन छ ।’

 

Most Visited News (monthly)