अभिनेता सरोज खनालको पहिलो निर्देशित फिल्म ‘बगान’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । एकल महिलाको पुनर्विवाहको कथालाई उठान गरेको फिल्मले बुधबार साँझ काठमाडौंमा आयोजित ग्राण्ड प्रिमियरमा सुखद प्रतिक्रिया प्राप्त गर्यो। फिल्म हेर्ने अधिकांशले केही दृश्य र संवादले भावुक बनाएको प्रतिक्रिया दिएका छन् । खनालको निर्देशकीय कौशलको पनि प्रशंसा भयो ।
फिल्म हेरिसकेपछि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफ्नी छोरी सानो छँदा उसले ‘बजारमा बुवा किन्न जाम न’ भन्ने गरेको स्मरण गर्दै त्यस प्रकारका समस्याबाट गुज्रेका सबै छोराछोरीले ‘बगान’बाट धेरै कुरा सिक्न पाउने धारणा राखिन् । ‘फिल्ममा छोरीले आमाको लागि जे गरेकी छन्, त्यही काम छोराले पनि गर्न सक्ने हो भने समाज उत्तम हुन्छ,’ उपसभामुख रानाले भनिन् ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले ‘बगान’ फिल्म मात्र नभई क्रान्ति भएको प्रतिक्रिया दिइन् । ‘यस्तो विषयवस्तु उठाउनलाई ठूलै मुटु चाहिन्छ । सरोज खनाल जस्तो अभिनेता हुनुहुन्छ, त्यस्तै अब्बल निर्देशन गर्नुभएको छ,’ उनले भनिन् । फिल्ममा करिश्मा मानन्धरले ‘म अब्बल हुँ’ भनेर पुनः प्रमाणित गरेको बताउँदै दीपाश्रीले फिल्मका प्रत्येक संवादका शब्दहरुले मुटु छोएको बताइन् ।
अभिनेता तथा निर्माता रमेश उप्रेतीले आफू कम रुने व्यक्ति भए पनि फिल्मले रुवाएको बताए । ‘म पुरुष हुँ, कम रुन्छु । म यत्तिकै पक्कै रोइनँ होला । फिल्म हेर्दा तपाईंको आँखामा आँशु आएन भने मेरो नाम रमेश उप्रेती नै होइन,’ उनले ठोकुवा गरे । उनले कथा, निर्देशन र कलाकारको अभिनयको प्रशंसा गरे । फिल्मले नेपाली समाजलाई परिवर्तनको बाटो देखाउने उनको विश्वास छ ।
निर्देशकहरु दिनेश डिसी, ज्ञानेन्द्र देउजा, नवल नेपाल, ऋषि लामिछाने, शोभित बस्नेत र नरेश पौडेल, गायिकाद्वय देविका बन्दना र सुनिता दुलाल, गायकहरू विकास राणा, सत्यराज आचार्य, स्वरुपराज आचार्य, कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, पत्रकार बबिता बस्नेत, अभिनेता कृष्ण मल्ल, निर्देशक तथा निर्माता अशोक शर्मालगायतले पनि फिल्मको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
फिल्ममा एकल आमाको भूमिका निर्वाह गरेकी करिश्माले पहिलो पटक पूरा फिल्म हेरेपछि आत्मसन्तुष्टि मिलेको बताइन् । उनले भनिन्, ‘एक कलाकारलाई आफ्नो काम मन पर्दैन, तर ‘बगान’ हेर्दा म सन्तुष्ट भएँ ।’ निर्देशक तथा अभिनेता सरोज खनालले अब दर्शकको हातमा फिल्म जिम्मा लगाएको बताए । अभिनेत्री प्रमिला कार्कीले पर्दामा आफैंलाई हेर्न गाह्रो भएको अनुभव सुनाइन् ।
फिल्ममा निर्देशक खनाल, करिश्मा र प्रमिलासँगै आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालगायतको अभिनय छ । ‘बगान’बाट प्रमिलाले अभिनयमा राम्रो सम्भावना देखाएकी छन् । स्वप्निल नीरवको कथामा बनेको फिल्मका निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर हुन् । फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन छ ।