‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले निर्देशनको कमाण्ड सम्हालेको नयाँ फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सुरु भएको छ । गएको शनिबार नक्साल भगवती मन्दिरमा शुभ मुहूर्त गरिएको फिल्मको शुक्रबारबाट ओखलढुङ्गास्थित रुम्जाटार (निर्देशक गुरुङको गाउँ)मा क्यामेरा पूजा गर्दै छायांकन थालिएको हो । फिल्मको पहिलो चरणको छायांकन रुम्जाटारमै गरिनेछ ।
दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा गरिने जनाइएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको जोडी बाँधिने फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङलगायतको पनि अभिनय रहनेछ । दयाहाङ र आँचलबीच पहिलो पटक फिल्ममा सहकार्य जुरेको हो । उनीहरुले एउटा म्यूजिक भिडियोमा भने एकसाथ अभिनय गरेका थिए ।
२०७१ सालमा मण्डला थिएटरमा तीनपटकसम्म मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियामा रहेर यो फिल्म बन्न लागेको हो । त्यस नाटकलाई दयाहाङ राईले निर्देशन गरेका थिए । बासुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको ट्यागलाइन ‘किन चाउरियो मरिच, आफ्नै रागले’ राखिएको छ । आगामी वर्ष (२०८१)को नयाँ वर्षमा फिल्म प्रदर्शन हुने निश्चित भैसकेको छ ।
फिल्मको मुहूर्त समारोहमा आँचलले कुशल अभिनय गर्ने कलाकार (दयाहाङ राई)सँग काम गर्न आफू उत्साहित रहेको बताएकी थिइन् । ‘उहाँबाट मैले धेरै कुरा सिक्न पाउँछु भन्ने लागेको छ,’ उनले भनेकी थिइन्, ‘यो टिम मेरो लागि नयाँ हो । मैले वर्कसपमै धेरै कुरा सिकेकी छु । वर्कसपको शैली नै मेरो लागि नयाँ थियो ।’ दयाहाङसँगको जोडी रुचाइनेमा पनि उनी विश्वस्त देखिएकी छिन् ।