मिति : २०८१ आश्विन १८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘टाइगर ३’को चुनौती चिर्दै ‘दिमाग खराब’को आक्रामक व्यापार

फिल्मीखबर, काठमाडौं, 2023/11/18

तिहारको माहोललाई मध्यनजर गर्दै कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ‘दिमाग खराब’ले दुई दिन निराशाजनक व्यापार गर्‍यो । हलमा दर्शक सिला खोज्नुपर्ने स्थिति थियो । त्यसमाथि आइतबारबाट बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’ आउँदा फिल्म ‘रेड जोन’मा थियो । धेरैजसो मल्टीप्लेक्सहरुमा शोज पनि ठूलो मात्रामा खोसियो ।

तर, अब्बल ‘माउथ पब्लिसिटी’पछि तिहार विदामा फिल्मको अकुपेन्सी एकाएक बढ्यो । फिल्मले प्राप्त गरेका अधिकांश शोजहरु हाउसफुल हुन थाले । तिहार विदा सकिएपछि पनि फिल्मप्रति दर्शकको आकर्षण घटेको छैन । शनिबार (आज) फिल्मको व्यापार थप आक्रामक देखिएको छ । आइतबार छठको विदा रहेकाले फिल्मले दुई दिनमै दुई करोड हाराहारी कमाउन सक्ने देखिन्छ ।

 

dimag kharab


कमजोर प्रतिक्रियापछि भारतसँगै नेपालमा ‘टाइगर ३’को व्यापारमा ठूलो गिरावट आएको छ । जसको फाइदा ‘दिमाग खराब’लाई भएको छ । फिल्मले गुमाएका शोजहरु पनि फिर्ता पाउन थालेको छ । केही मल्टीप्लेक्सहरुले त ‘टाइगर ३’लाई भन्दा बढी शोज दिएका छन् । केहीले भने बराबर शोज बाँडेका छन् । शनिबार ‘टाइगर ३’भन्दा ‘दिमाग खराब’को अकुपेन्सी उच्च देखिएको छ ।

बलिउडको ठूलो फिल्मसँग प्रतिस्पर्धाका बावजूद पनि घरेलू दर्शकको रोजाईमा नेपाली फिल्म पर्दा निर्देशक बस्नेत हर्षित देखिन्छन् । उनी भन्छन्, ‘मैले बनाउने फिल्मप्रति दर्शकहरुको विश्वास रहेको पाउँदा खुसी लाग्छ । कतिले त अर्को भाग पनि माग गर्नुभएको छ । एउटा ‘फिल्ममेकर’का लागि यो राम्रो कुरा हो । मलाई गल्ती गर्ने छुट छैन भनेर दर्शकले सचेत पनि गराइराख्नुभएको छ ।’  

त्यस्तै, अभिनेत्री स्वस्तिमा खड्का राम्रो नेपाली फिल्मलाई दर्शकले माया गर्ने कुरा ‘दिमाग खराब’ले प्रमाणित गरेकोमा खुसी व्यक्त गर्छिन् । ‘हामीले हिन्दी फिल्मसँग प्रतिस्पर्धा गर्नुपरेको थियो । ३ सय करोडको फिल्मसँग ४ करोडको नेपाली फिल्मको प्रतिस्पर्धा भैरहेको थियो । राम्रो नेपाली फिल्म बन्यो भने दर्शकले माया गर्नुहुन्छ भन्ने यो प्रमाण हो । र, म खुसी छु,’ स्वस्तिमाले भनेकी छन् ।

राजनीतिक पृष्ठभूमिकामा निर्माण भएको फिल्ममा स्वस्तिमासँगै खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया आदिको अभिनय रहेको छ । रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रहेको ‘दिमाग खराब’मा आकाश बरालको लेखन छ भने सुशन प्रजापतिको छायांकन छ ।

Most Visited News (monthly)