सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर तथा माओवादी नेता भरत कुमार थापाको जीवनबाट प्रभावित भएर बन्न लागेको फिल्म ‘मेयर’मा अभिनेता खगेन्द्र लामिछाने मुख्य भूमिकामा अनुबन्धित भएका छन् । अब फिल्ममा उनले मेयर थापाको भूमिका निर्वाह गर्नेछन् । निर्देशक दीपेन्द्र के. खनालले बुधबार दिउँसो फेसबुकमार्फत् फिल्ममा खगेन्द्रको प्रवेश भएको जानकारी गराएका हुन् ।
दीपेन्द्र र खगेन्द्रबीच चौंथोपटक सहकार्य हुन लागेको हो । यसअघि ‘पशुपति प्रसाद’, ‘धनपति’ र ‘पशुपति प्रसाद २’मा उनीहरुबीच टिमअप भएको थियो । आगामी माघबाट छायांकन सुरु हुन लागेको फिल्म मेयर थापाको पूरापूर बायोपिक भने नहुने बताइएको छ । बागमती क्षेत्रमै छायांकन गरिने फिल्मलाई सागर मैनाली र अर्विसा थापाले निर्माण गर्नेछन् । अर्विसा मेयर थापाकी छोरी हुन् ।
विवादित छविका मेयर थापाले बागमतीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न करिब १२१ बिघा क्षेत्रफल जग्गामा ५८ करोड खर्च गरेर देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल (भरतताल) बनाएका छन्, जुन अहिले मधेश प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । उनको राजनीतिक उतार-चढाव, उनीमाथि लागेका आरोप र मेयर भएपछि गरेका कामलाई फिल्ममा प्रस्तुत गरिनेछ ।