मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुनिल पोखरेलको नजरमा सौगात भलाद्मी, विपिन बदमास

फिल्मीखबर, काठमाडौं, 2023/12/26

नेपालमा नाटकलाई स्थापित गर्न सुनिल पोखरेलको ठूलो योगदान मानिन्छ । कुनै समय उनले चलाएको ‘आरोहण गुरुकुल’ नाटक र कलाकार जन्माउने थलो थियो । उनको पदचाप पछ्याउनेहरु अहिले फिल्मदेखि थिएटरसम्म भरिभराउ छन् । दयाहाङ राई, खगेन्द्र लामिछाने, विपिन कार्की, सौगात मल्ल, कार्म जस्ता धेरै कलाकारहरुले उनलाई गुरुको रुपमा आदर र सम्मान गर्ने गर्छन् ।

उनलाई आफ्ना चेलाहरु अभिनयको क्षेत्रमा अगाडि बढेको देख्दा बेग्लै आनन्द र खुसी महसुस हुन्छ । हालै एक टीभी अन्तर्वार्तामा पोखरेलले भनेका छन्, ‘मलाई लाग्छ कि शिक्षकभन्दा अगाडि विद्यार्थी जानुपर्छ । विद्यार्थी अगाडि गएन भने कसरी विकास हुन्छ ? गुरुमै सीमित रह्यो भने ऊ त्यही सिधियो । विकासक्रम रोकिन्छ । उनीहरु अगाडि जानुपर्छ अनि मात्र त्यो विधाको विकास हुन्छ ।’

 

Sunil Pokharel


सुनिलले गुरुकुलमा विपिन कार्कीलाई धेरै नाटकमा खेलाएका छन् । तर, उनको नजरमा विपिन बदमास पात्रको रुपमा चिनिएका थिए । उनी भन्छन्, ‘गुरुकुलमा आउनुभन्दा अघि विपिन अलि बदमास थियो । गुरुकुलमा आएपछि त त्यस्तो बदमासी गरेन । तर, पहिला उसको बदमासीका कयैन् किस्सा छन् । कमलमणी नेपाल (कलाकार)को गाउँले भाई भएकाले ऊ सधैं गुरुकुल आउँथ्यो ।’

विपिनले केही समय गुरुकुलमा भोलेन्टियरको रुपमा काम गरेको उनी स्मरण गर्छन् । एकपटक एउटा नाटकको तयारी भइरहेको समयमा उनको नजर विपिनमा परेको रहेछ । उनी सम्झन्छन्, ‘एकपटक एउटा नाटकको तयारी गरिरहेका थियौं । त्यही बेला मैले उसलाई नाटकको एउटा पात्रमा सुहाउने देखेँ । सुरु-सुरुमा त उसले स-साना रोल नै पायो । पछि अलि राम्रो रोल पाउन थाल्यो ।’

विपिनले गुरुकुल आउनुभन्दा अघि गर्न बाँकी काम केही नराखेको उनी सम्झन्छन् । विपिनले मदिरा बेच्नेदेखि स्वास्थकर्मीको विषय समेत पढेको उनले बताए । सौगात मल्ल भने उनलाई गुरुकुलदेखि नै भलाद्मी लाग्छ । कम बोल्ने र धेरै पढ्ने उनको बानी रहेको पोखरेल बताउँछन् । उनी भन्छन्, ‘गुरुकुलमै उसको सानोतिनो लाइब्रेरी थियो । कहिले काहीँ उसैले मलाई किताब रिफर गर्थ्यो ।’

खगेन्द्र लामिछानेलाई भने उनी ‘सार्प दिमाग’ भएको कलाकार मान्दछन् । ‘खगेन्द्र पनि पढ्ने-लेख्ने मान्छे हो । उसको ‘सार्प’ दिमाग छ । उसले राम्रो लेख्छ । उसले लेखेको मलाई मनपर्छ । उसले गुरुकुलमा दुईवटा नाटक निर्देशन गरेको थियो । पछि फिल्मतिर गयो तर रंगमञ्चमा उसको एकदमै राम्रो थियो,’ उनले भने । सुनिल पोखरेलले चारवटा नेपाली फिल्ममा समेत काम गरेका छन् ।