अभिनेत्री पूजा शर्मा फिल्मभन्दा ज्यादा व्यक्तिगत जीवनका कारण चर्चामा आउने गर्छिन् । उनका अभिव्यक्तिदेखि प्रेम जीवनसम्म चर्चाको विषय बन्ने गर्छ । विगत ३ वर्षयता उनी युद्ध बानियाँको प्रेममा छिन् । उनीहरुले एकअर्काप्रति खुलेर प्रेम व्यक्त गरिरहेका हुन्छन् । यतिबेला संयुक्त लगानीमा रेस्टुरेन्ट व्यवसाय सुरु गरेका उनीहरु अर्को वर्ष विवाह बन्धनमा बाँधिने योजनामा समेत छन् ।
युद्धप्रति पूजाको कुन हदसम्म आशक्ति छ भन्ने कुरा उनले आफ्नो औंलामा खोपाएको ट्याटुले पनि बयान गर्छ । सोमबार युद्धको जन्मदिनमा पूजाले आफ्नो औंलामा युद्धको नामको ट्याटु बनाएकी छन् । उनको औंलामा ‘यू’ लेखिएको छ । उनले युद्धलाई ट्याटु देखाउँदै आफ्नै रेस्टुरेन्टमा बर्थ-डे सरप्राइज दिएकी छन् । र, युद्धले उनको औंला र निधारमा चुम्बन गर्दै प्रेम भाव दर्शाएका छन् ।
ट्याटु बनाउँदै गर्दाको भिडियो इन्स्टा स्टोरीमा सेअर गर्दै पूजा लेख्छिन्, ‘तिमी मेरो जीवनमा कति महत्त्वपूर्ण छौ भनेर सम्झाउनको लागि मलाई कुनै विशेष दिनको आवश्यकता पर्दैन । तिमीले मेरो जीवनमा हरेक दिन आशीर्वाद दिइरहेका छौ र तिमी हरेक दिन माया गर्नका लागि योग्य छौं ।’ उनले युद्धसँग भेटेको दिनलाई आफ्नो जीवनकै सबैभन्दा खुसीको दिन रहेको समेत बताएकी छन् ।
उनले युद्धलाई जन्मदिनको शुभकामना दिँदै इन्स्टाग्राममा अर्को पोस्ट लेखेकी छन्, ‘तिमीलाई भेटेको दिन मेरो जीवनको सबैभन्दा खुसीको दिन थियो । तिमी मेरो लागि एकदमै अद्भुत छौं र म तिमीलाई धेरै माया गर्छु । तिमीलाई जन्मदिनको धेरै-धेरै शुभकामना ।’ उनको पोस्टरमा धेरैले युद्धलाई ‘ज्वाइँसाब’ र ‘भिनाजु’ भन्दै जन्मदिनको शुभकामना दिएका छन् । युद्ध जिम ट्रेनर समेत हुन् ।