करिब ५/७ वर्षअघि अभिनेत्री प्रियंका कार्कीको हरेक हप्ताजसो फिल्म रिलिज हुने गरेका थिए । त्यसमध्ये केही फिल्म सफल हुँदा उनलाई ‘नम्बर वान अभिनेत्री’ समेत भन्न थालिएको थियो । तर, जब उनले संख्यात्मक अभिनयमा जोड दिन थालिन्, त्यसपछि उनको करिअरको गति विग्रिएको छ । कुनै बेला मेकरको पहिलो रोजाईमा पर्ने गरेकी उनलाई अहिले विकल्पको रुपमा लिइन्छ ।
विवाहपछि उनले जम्मा दुईवटा फिल्ममा काम गरिन्, ‘चि मुसी चि’ र ‘फूलबारी’ । दुवै फिल्म गत वर्ष प्रदर्शनमा आएका थिए । ‘चि मुसी चि’ बक्स अफिसमा डिजास्टर हुँदा ‘फूलबारी’ले जेनतेन लगानी उठायो । यसपछि प्रियंकाले कुनै फिल्ममा काम गरेकी छैनन् । बरु यो बीचमा उनी केही टेलिभिजन रियालिटी शोको जज (निर्णायक) बनिन् । अब भने उनी फिल्मको तयारीमा जुटेकी छन् ।
अर्को वर्ष प्रियंका दुईवटा फिल्ममा काम गर्दैछन् । त्यसमध्ये एउटा फिल्म उनी आफैंले निर्माण गर्नेछिन् । धुम्बाराहीमा सञ्चालनमा आएको मनोरञ्जन पार्क ‘उप्स’को सोमबार उद्घाटन गर्ने क्रममा उनले फिल्मबारे भनिन्, ‘२०८१ मा म २ वटा फिल्ममा काम गर्दैछु । त्यसमध्ये एउटा आफ्नै होम प्रोडक्सनको हुन्छ । फिल्म एक्सन-थ्रीलर कथामा बन्नेछ । त्यसैका लागि अहिले तयारी भैरहेको छ ।’
प्रियंकाले प्रष्ट रुपमा नखुलाए पनि होम प्रोडक्सनबाट बन्ने फिल्ममा आफ्नो एक्सन भूमिकामा रहने उनको संकेत छ । उनी आफैंले फिल्मको पटकथा लेखिरहेको जनाइएको छ । प्रियंकाले आफ्नो कम्पनी ट्वींकलबेल पिक्चर्सबाट यसअघि ‘वसन्त’ नामक एउटा सर्ट फिल्म र ‘जस्ट अनादर लभ स्टोरी’ वेब सिरिजको निर्माण गरिसकेकी छन् । अब उनी फिचर फिल्म निर्माणको अनुभव लिँदैछिन् ।