यस वर्षको सुपरहिट फिल्म ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले आफ्नो दोस्रो फिल्म ‘मनसरा’को छायांकन सकाएका छन् । गत पुष २१ गतेबाट सुरु भएको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरी ३० दिनमा सकिएको हो । शनिबार अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले फिल्मको अन्तिम दृश्य दिएका थिए । यसअघि ‘जारी’मा पनि उनीहरुको जोडी बाँधिएको थियो ।
छायांकन सकिएपछि निर्माण टिमले उपलब्ध गराएको तस्वीर हेर्दा फिल्मले लिम्बू समुदायको कथा उठाएको बुझ्न सकिन्छ । एक तस्वीरमा दयाहाङ ढाकाटोपी र दौरा-सुरुवालसहित धान नाच (एकअर्काको हात समाएर सामुहिक रूपमा नाच्ने लिम्बू समुदायको नाच) नाचिरहेका छन् भने अर्को तस्वीरमा मिरुना मास्क र चश्मा लगाएर लिम्बू समुदायको परम्परागत पोशाकमा देखिएकी छन् ।
निर्देशक सुब्बाकै लेखन रहेको फिल्ममा प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी लगायतको पनि अभिनय छ । फिल्मका निर्माता तथा छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । त्यसैगरी, विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्मातामा छन् । फिल्मलाई आगामी वर्षको बैशाख २१ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकिएको छ ।
कबड्डी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन र श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको कला निर्देशन तथा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशन छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको यस फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले देशभर वितरण गर्नेछ ।