विदेशी भूमिमा नेपाली फिल्मको बजार फैलिँदो छ । कुनै बेला च्यारिटी शोमा निर्भर हुने अवस्थाबाट अहिले विदेशी फिल्मसहर नै बक्स अफिसमा रिलिज हुने गरेका छन् । यसको फाइदा नेपाली निर्माताहरुलाई भइरहेको छ । किनकि, फिल्मको विदेश राइट्स बिक्री हुने क्रम बढेको छ । सिक्वेल तथा सिरिज फिल्मले त ओभरसिज राइट्सबाटै लगानीको ठूलो हिस्सा उठाइसकेका हुन्छन् ।
‘जारी’बाट निर्देशनमा आफूलाई ब्रान्ड बनाएका उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’को पनि टिजर रिलिज भएपछि विदेशमा माग बढेको छ । यसैबीच, सेभेन सिज इन्टरटेनमेन्टले अमेरिका, अष्ट्रेलिया तथा मध्यपूर्वका देशहरुका लागि फिल्मको प्रदर्शन अधिकार खरिद गरेको छ । शनिबार निर्देशक सुब्बा र सेभेन सिजका प्रतिनिधि रमेश चौलागाईंले वितरणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, शान्ति गिरी, लोकमणि सापकोटा, विद्या कार्की, लक्ष्मण विक्रम बस्नेत लगायतको अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् । उनी छायाँकार समेत हुन् । फिल्मले नेपालसँगै विदेशमा राम्रो व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।