मिति : २०८१ भाद्र २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूजार सार्की’को सानदार ओपनिङ, हलमा देखियो तीन स्टारको क्रेज (तस्वीरसहित)

फिल्मीखबर, काठमाडौं, 2024/05/23

बुद्ध जयन्तीको विदा पारेर बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म ‘पूजार सार्की’ले घरेलु बक्स अफिसमा सानदार ओपनिङ गरेको छ । फिल्मलाई देशभरका हलमा दर्शकको उत्साहजनक साथ देखियो । बिहान ४०/५० प्रतिशत हाराहारी अकुपेन्सी कायम गरेको फिल्मले मध्यान्हबाट दर्शकको चाप बढाएको थियो । दिउँसो र रात्रिकालिन प्रायः शोजमा फिल्मको शतप्रतिशत अकुपेन्सी रह्यो ।

 

May be an image of one or more people and crowd


देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सको काठमाडौंसहित मोफसल अन्तर्गत दमौली, विराटनगर, इटहरी, नेपालगञ्ज, नारायणगढ, विर्तामोडका हलमा फिल्मलाई प्राप्त शोजमा उल्लेख्य मात्रामा दर्शकको उपस्थिति देखिएको थियो । काठमाडौंका बिग मुभिज, वान् सिनेमाज्, एफक्युब, बिएसआर जस्ता ठूला मल्टीप्लेक्समा पनि फिल्मले बिहीबार आकर्षक व्यापार गरेको छ ।

सिंगल थिएटरहरुमा समेत फिल्म हेर्ने दर्शकको चाप उच्च थियो । बालाजुस्थित अष्टनारायण हलको मध्यान्ह साढे ४ बजेको शोजमा तीनवटा हल हाउसफुल भएका थिए । जसमा एक हजारभन्दा बढी दर्शकको उपस्थिति थियो । त्यहाँका दर्शकहरुसँग साक्षात्कार गर्न फिल्मका तीन ‘स्टार’हरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ अष्टनारायण पुग्दा अद्भूत क्रेज देखिएको थियो ।

 

May be an image of 4 people and text


फिल्मका कलाकारहरुले बिहानैदेखि काठमाडौंका विभिन्न हलहरु पुगेर दर्शकसँग भेट गरेका थिए । आर्यन, प्रदीप र पल एकसाथ हलमा पुग्दा दर्शकको भीड नियन्त्रण गर्नै निर्माण टिमलाई हम्मेहम्मे परेको हुन्थ्यो । उनीहरुसँग तस्वीर खिच्न चलेको हानाथाप उस्तै थियो । यसले एकपटक फेरि उनीहरुको स्टारडम प्रमाणित गरेको छ । तीनै स्टारको अभिनयलाई पनि दर्शकले मनपराएका छन् ।

फिल्मको रिलिजकै लागि ‘रावायण’को छायांकन रोकेर बिहीबार बिहान सर्लाहीबाट काठमाडौंमा आइपुगेका पल दर्शकको साथले बेग्लै रमाइलो महसुस भएको अनुभव सुनाए । ‘मैले २ वर्षपछि दर्शकसँग बसेर यसरी फिल्म हेरेको हुँ । र, दर्शकले यो किसिमले साथ दिएको देख्दा रमाइलो र खुसी महसुस भइरहेको छ । दर्शकले प्रतिक्रिया पनि एकदमै राम्रो दिइरहनुभएको छ,‘ उनले भने ।

 

May be an image of one or more people, violin and crowd


प्रदीपले फिल्मबाट दर्शक सन्तुष्ट भएको देख्दा आनन्द लागेको बताए । उनले भनेका छन्, ‘फिल्म हेरेर दर्शक सन्तुष्ट देखिनुभएको छ । त्यो नै हाम्रो सफलता हो । हामी जे कुरामा कन्भिन्स्ड थियौं, त्यो कुरा जस्ताको त्यस्तै आएको छ । अब यसले लामो समयसम्म आफ्नो प्रभाव छाड्छ भन्नेमा म विश्वस्त छु ।’ आर्यनले भने दर्शकले दिएको साथलाई फिल्मको सफलताको सुरुवात मानेका छन् ।

फिल्मका वितरक रोहित कट्टेलले बिहीबारको व्यापार एकदमै राम्रो भएको दाबी गरे । उनले भने, ‘आज हामीले सोचेकोभन्दा पनि राम्रो व्यापार भयो । देशभर फिल्मलाई प्राप्त शोजहरु प्रायः सबै हाउसफुल भए । फिल्मप्रति दर्शकको क्रेज हेर्दा आगामी दिनमा पनि आक्रामक व्यापार यथावत् रहनेमा विश्वस्त छौं ।’ फिल्मको बिहीबारको कलेक्सन एक करोडमाथि हुने आँकलन गरिएको छ ।

 

pujar sarki


जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्मलाई दर्शकहरुबाट बलियो ‘वर्ड अफ माउथ’ मिलेको छ । विशेषगरी फिल्मको पहिलो हाफ र क्लाइमेक्सलाई दर्शकले बुलन्द भनेका छन् । अब यसको प्रभाव फिल्मको आगामी दिनको व्यापारमा पर्ने आँकलन गरिएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्ममा अञ्जना बराइली र परीक्षा लिम्बूको मुख्य भूमिका छ ।