मिति : २०८१ आश्विन १९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

हँसियामा हेमाको रियल स्टण्ट

फिल्मीखबर, काठमाण्डौ, 2013/05/16

प्रशिक्षण भन्ने शब्द पनि सुन्न नचाहने नेपाली फिल्मका सेलिब्रेटीहरूलाई मोडल तथा करियोग्राफर हेमा श्रेष्ठले गतिलो झापड दिने तयारी गरेकी छिन् । हँसिया फिल्म मार्फत एक्सन गर्ल बनेर आउने तयारी गरेकी हेमा बिगत ६ महिना देखि राजकुमार उप्रेतीसँग फाईट सिकिरहेकी छिन् ।

 

बिहिबार कोटेश्वरको जडिबुटीमा अवस्थित एक स्टुडियोमा हेमालाई फाईटका स्टेपहरू सिकाईरहेका राजकुमारले फिल्मीखबरसँग कुरा गर्दै हेमाको बारेमा भने- 'महिला कलाकारको त के कुरा गर्नु उनी पुरूष कलाकारसँग प्रतिष्पर्धा गर्न सक्छिन् भन्ने कुरामा म बिश्वस्त छु ।' ६ महिनाको सिकाईमा निकै मेहनतका साथ काम गरेको बताउँदै राजकुमारले हेमालाई पर्फेक्ट कलाकार भएको बताए ।

 

'१० बर्ष देखि फिल्म क्षेत्रमा काम गर्दा हेमा जस्तो मेहनत गर्ने कलाकार अरू कोही देखिन,' राजकुमारले भने- 'मैले उनको भविष्य उज्जवल देखेको छु ।' मार्सल आर्टका खेलाडी राजकुमारले हेमालाई मार्सल आर्ट सहित फिल्मी एक्सन सिकाईरहेका छन् । फिल्ममा राम्रो एक्सन कलाकार बन्न मार्सल आर्टको बेस हुनु जरूरी भएकाले पनि हेमालाई ६ महिना देखि नै मार्सल आर्टको ट्रेनिङ दिईरहेको उनको भनाई छ ।

 

फस्टलभ, मिसन पैसा, मिसन पैसा रिलोडेड, म अनि तिमी, परिचय जस्ता फिल्ममा फाईट डाईरेक्टरको जिम्मा पाएका राजकुमारले हँसिया फिल्म पूर्ण रूपमा एक्सन फिल्म भएको बताए । उनले हेमा नै फिल्मको हिरो भएकाले उनलाई ट्रेनिङ दिन जरूरी रहेको बताए । यता हँसिया मार्फत फिल्म निर्देशनमा हात हाल्न लागेका मिलन चाम्सले हेमालाई नै हेरेर फिल्मको कथा तयार पारेको बताए । 'म्युजिक भिडियोमा काम गर्दा उनी भित्र खुबी देखेर नै हँसियामा एक्सन गर्ल बनाउने निर्णय गरेको हुँ,' मिलनले भने- 'यो फिल्मलाई हेमाले नै लिड गर्नेछिन् ।'

 

काम प्रति जिम्वेवार रहने बताउने हेमाले शुरूमा केहि गार्‍हो भएपनि अहिले निकै रमाईलो लागिरहेको बताईन् । अञ्जु पन्तले गाएको माईती घर बोलको रिमिक्स गीतमा मोडलिङ गरेर कलारिताको क्षेत्रमा प्रवेश गरेकी हेमाले हँसिया फिल्ममा काम गर्न निकै एक्साईटेड भएको बताईन् । 'यसअघि थुप्रै फिल्ममा अफर आएका थिए तर म राम्रो कथाबस्तुको खोजीमा थिएँ जुन हँसियामा पाएँ,' हेमाले भनिन् ।

 

प्रदर्शनको क्रममा रहेको फिल्म सौर्यमा करियोग्राफर सहित अभिनय समेत गरेकी हेमा मार्सल आर्ट खेलाडी पनि हुन् । हँसियाका लागि उनले ६ महिना देखि बिहान रनिङ र जिन्मास्टिक गर्दै आएकी छिन् । दिउँसो फाईटको ट्रेनिङ सकेर बेलुका स्विमिङ गर्ने हेमाले बताईन् । 'पूर्ण तयारीका साथ फिल्ममा आउँदैछु,' हेमाको भनाई छ । हेमाले बरू चोटपटक नै लागोस् तर फिल्ममा डबल स्टण्ट (डमी) प्रयोग नगरी रियल स्टण्ट नै दिने बताईन् ।

 

झन्डै १५ वटा म्युजिक भिडियोमा मोडलिङ र १० वटा जति भिडियोमा करियोग्राफी गरेकी हेमाले इकु-२मा पनि करियोग्राफी गरेकी थिईन् । अभिनयलाई पहिलो प्राथमिकतामा राख्ने बताउँदै हेमाले करियोग्राफी पेशालाई पनि सँगै लैजाने बताईन् । अनुप बरालको एक्टर्स स्टुडियोबाट तीन महिने अभिनय कोर्ष समेत गरेकी हेमाले हँसिया फिल्म नै आफ्नो करियरको टर्निङ प्वाईन्ट हुने बताईन् ।

 

जुन महिनाको ११ तारिखबाट काठमाण्डौमा सुटिङ शुरू हुने हँसियालाई चाम्स इन्टरटेन्मेन्टको व्यानर र गंगाराज राईको प्रस्तुतीमा दुर्गा घलेले निर्माण गर्दैछन् । फिल्मको बजेट करिब ९० लाख रूपैंयाको हुने बताईएको छ । प्रस्तुत प्रोमो ट्रायलको लागि खिचिएको हो ।